त्रिशुली बस दुर्घटनामा मृत्यु भएकाका सात जनाको सनाखत हराई रहेकाहरुको खोजी कार्य जारी ।

विहीबार, १४ मंसिर २०७४, १३ : १४
त्रिशुली बस दुर्घटनामा मृत्यु भएकाका सात जनाको सनाखत हराई रहेकाहरुको खोजी कार्य जारी ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज दिएको जानकारी अनुसार ६ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा अर्घखाँचीका ५२ वर्षिय नुदराजअधिकारी, दैलेखका ३० वर्षिय अमरबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १ का ५० वर्षिय कृष्ण ढकाल रहेका छन् । त्यसैगरी मृत्यु हुनेमा रुपन्देही देवदहका ३० वर्षिय दीपक पाण्डे, कपिलवस्तु बाङ्ग्राका ३९ वर्षिय ओमबहादुर सिजापती र बतन खुल्न नसकेका अन्दाजी ३० वर्षका विष्णु रहेका छन् । प्रहरीले बुधबार घटनास्थलमा मृत्यु हुनेको संख्या सात जनाएको थियो । यद्यपी एक जना मृतकको भूडीको भागलाई छुट्टै मृतक भनेर गणना गरेपछि संख्या बढी देखिएको थियो । घटनास्थलमा ६ र उपचारको क्रममा एकजनाको मृत्यु भएको प्रहरीले आज प्रष्ट्याएको छ ।

उपचारका लागि काठमाण्डौंको बि एण्ड बि अस्पताल पुर्‍याईएकी सन्धीखर्क नगरपालिका ४ अर्घखाँची बस्ने ४३ वर्षिया लक्ष्मी पौडेलको उपचारको क्रममा बुधबार नै मृत्यु भएको थियो ।  लु २ ख २९१ नम्बरको उक्त बस काठमाण्डौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशुली नदीमा खसेको हो । घाईते मध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा र १३ जनाको काठमाण्डौंको बि एण्ड बि र नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

नदीमा डुवेको बस निकाल्नका लागि प्रयास जारी रहेको छ । बससँगै अन्य तीन जना बेपत्ता भएको अनुमान गरिएको छ । प्रहरी उपरीक्षक थापाले अर्घाखाँचीका मनिषा थापा र शंकर कुँवर परिवारले बेपत्ता भएको जनाएको बताउनुभयो ।  दुर्घटनामा घाईते भएका ६ महिनाका बालकको आमा मनिषा भएको उहाँले बताउनुभयो । बालकको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेसमा उपचार भईरहेको छ ।

बसले शुरुमा २६ जनाको चलानी काटेको, कलंकीबाट चार जना चढाएको र चालक सहचालक दुई जना गरी बसमा ३२ जना सवार रहेको बताईएको छ । काठमाण्डौंबाट अर्घखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस ईच्छाकामना गाउँपालिका वडा नं. ३ चुम्लिङटारमा बुधबार बिहान ९ः१५ बजे दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस