संसदमा प्रदिप गिरीको प्रश्न : प्रधानमन्त्रीज्यू चुच्चे नक्सा कता हरायो ?

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, १४ : ११
संसदमा प्रदिप गिरीको प्रश्न : प्रधानमन्त्रीज्यू चुच्चे नक्सा कता हरायो ?

file-photo

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदिप गिरीले लिपुलेकसहितको चुच्चे नक्साको भ्रुण हत्या भएको हो ? भनी प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सरकारसँग नागरिकले चुच्चे नक्साबारे सोधिरहेको भन्दै तत्काल जवाफ दिन माग गरे ।‘प्रधानमन्त्रीज्यू चुच्चे नक्सा कता हरायो ? चुच्चे नक्साको भ्रूण हत्यो भयो कि बालहत्या भयो ?’, गिरीले प्रश्न गरे ।

संविधान सहमतिको दस्तावेज हुनुपर्ने भएपनि अझै केही राजनीतिक शक्तिले संविधान अस्वीकार गरेकोले राजनीतिक अस्थिरता बढेको गिरीको भनाइ छ । विगतमा पनि संविधान असफल भएका प्रशस्त उदाहरण रहेको भन्दै सांसद गिरीले संविधानको स्वीकार्यता बढाउनुपर्ने बताए । संविधान भर्खर रोपिएको बिरुवाजस्तै रहेको भन्दै सांसद गिरीले मलजल गर्नुको साटो जरा उखेल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

‘ यो संविधानको रक्षा हामी गर्छौं या गर्दैनौं ? यही रूपमा गर्छौं या यथोचित संशोधन गर्छौं ? यस संविधानलाई हामीले सम्हाल्ने कि नसमाल्ने ? भर्खर रोपिएको बिरुवालाई मलजल गर्ने कि बिरुवा उखेलेर जरा हेर्ने ?’, गिरीको प्रश्न थियो ।

आफ्नो भनाइको अन्त्यमा सांसद गिरीले राजनीतिक निकासका लागि व्यक्तिगत अंहकार त्याग्न आग्रहसमेत गरे । दलहरुले संसदबाट निकास खोज्नुपर्ने र नसके राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचनमा जानुपनि उपयुक्त हुने गिरीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस