गोंगबुस्थित नयाँ बसपार्क अन्तर्राष्ट्रियस्तरको बनाउन शुरु, पुनर्निर्माण गर्न बैशाख १ गते देखि केही दिन बन्द

रासस

सोमबार, ३० चैत्र २०७७, ०९ : १७
गोंगबुस्थित नयाँ बसपार्क अन्तर्राष्ट्रियस्तरको बनाउन शुरु, पुनर्निर्माण गर्न बैशाख १ गते देखि केही दिन बन्द

काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर पुनर्निर्माण गरी अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको छ । त्यसका लागि काउन्टर बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।

बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवतजावत गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । ‘नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रुपमा निर्माण गर्न लागिरहेका छौं,’ उनले भने ।

प्रालिले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिइएको हो । ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । उक्त बसपार्क एकैपल्ट एक हजार ५०० सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमताको छ ।

प्रतिक्रिया दिनुहोस