पाँच किलोमिटर सिँचाइ कुलो निर्माण

रासस

शुक्रबार, २७ चैत्र २०७७, १४ : ५४
पाँच किलोमिटर सिँचाइ कुलो निर्माण

काठमाडौँ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिँचाइ आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलोमिटर सिँचाइ कुलो निर्माण गरिएको हो ।

गत वर्ष शुरुआत भएका दुई आयोजना र चालु आर्थिक वर्षमा विनियोजन भएका तीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । रेशको झण्डै ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरी ती आयोजना निर्माण भएको वडाध्यक्ष प्रेम लामिछाने बताउँछन् । साविक रेश गाउँविकास समितिको वडा नं ५, ६ र ७ को अधिकांश जमिनमा सिँचाइ पुग्ने गरी ३।५ किलोमिटर देउराली सिँचाइ आयोजना निर्माण भएको छ । 

गण्डकी प्रदेश सरकारको  दुई करोड ५० लाखमा निर्माण सम्पन्न हुने चरणमा रहेको यो आयोजनाबाट झण्डै दुई सय हेक्टर जमिनमा सिँचाइ गर्न सकिने स्थानीय अगुवा ओमबहादुर थापाले बताए । आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । रेशखोलाबाट पानी ल्याउने गरी निर्माण भएको उक्त आयोजना आगामी असार मसान्तसम्म सबै काम सकिने छ ।

साङ्खोलाको पानी किसानको खेतबारीमा पुग्ने गरी रेशमा अर्को ठूलो आयोजना डोटासाङ खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । एक किलोमिटर लामो सिँचाइ आयोजना गत आर्थिक वर्षमा चार सय मिटर र चालु आर्थिक वर्षमा ६ सय मिटर निर्माण गरिएको हो । ४० हेक्टर क्षेत्रफल रहेको जमिनका लागि सिँचाइ पुयाउन गण्डकी प्रदेश सरकारको ५४ लाख अनुदानमा आयोजना निर्माण भएको हो ।

काठेखोला गाउँपालिकाको ५० लाख अनुदानमा साङ्खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । रेशको सबैभन्दा ठूलो फाँटका लागि बनाइएको आयोजनाबाट दुई सय हेक्टर जमिनमा सिँचाइ हुनेछ । आठ सय मिटर लामो कुलो यसै आवमा निर्माण सम्पन्न भएको वडाध्यक्ष लामिछानेले जानकारी दिए ।  वडा कार्यालयले आफ्नै लगानीमा दामगाडे सिँचाइ आयोजना र सिम्ले सिचाइ आयोजना निर्माण गरेको छ । झण्डै २० हेक्टर क्षेत्रफलका लागि निर्माण गरिएका आयोजनाको लागि वडा कार्यालयले सात लाख खर्चेको छ ।

“खोलामा पानी बग्ने, खेतबारी हिउँदमा बाँझै रहने समस्या अब हट्ने छ”, स्थानीय युवराज गौतम भन्छन्, “रेशमा यो वर्ष बनेका सिँचाइ आयोजनाले किसानलाई उत्साहित बनाएको छ ।” पानीको प्रशस्तै स्रोत रहेको रेशमा सिँचाइ कुलोको अभावमा खेतबारी बाँझै रहने समस्या थियो । सिँचाइ आयोजना बनेपछि हिउँदको समयमा खेतबारी हराभरा हुने अध्यक्ष लामिछाने बताउँछन् ।

“अब रेशको तल्ला फाँटमा तीनखेती हुन्छ, माथिल्लो भूभागमा तरकारी उत्पादन बढ्छ”, उनले भने , “हामीले लामो प्रयासपछि वडाका अधिकांश भागमा पुग्ने गरी सिँचाइ आयोजना बनाएका छौँ ।” वडाले वर्षामा भलको पानी तर्काउने र हिउँदमा खोलाको पानी फाँटमा पु¥याउने गरी सडक छेउबाट कुलो निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस