भूपू सैनिकको जीवनस्तर उकास्न कल्याणकारी कार्यक्रम गरिरहेका छौं : प्रधानसेनापति थापा

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, १६ : १५
भूपू सैनिकको जीवनस्तर उकास्न कल्याणकारी कार्यक्रम गरिरहेका छौं : प्रधानसेनापति थापा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका लागि तय भएको तेस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी उपत्यका पृतनामा आज आयोजित भूपू सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भूपू सैनिकको वीरता र समर्पणको सङ्गठनले कदर गर्ने  विश्वास दिलाए । प्रत्येक सेनापतिको कार्यकालमा कम्तीमा एक पटक प्रदेशगत रुपमा सेनाले भूपू सैनिक सम्मेलन गर्दै आएको छ ।
 
उनले भने, “भुपू सैनिक, एकल महिला र अरु हिताधिकारीको आर्थिक र सामाजिक रुपमा जीवनस्तर उकास्न कल्याणकारी कार्यक्रममा सेवाग्राहीको थप पहुँच विस्तारको प्रयत्न भइरहेको छ ।” सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई कोभिड–१९ खोप प्रदान गर्ने कार्यको शुरुआत भइसकेको पनि उनले जानकारी दिए । सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा सेनाको व्यवस्थापनमा  भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नारामा सेनाले सम्मेलन गर्दै आएको छ ।
  
सकल दर्जाबाट अवकाश प्राप्त गरी सकेपछि पुनः रोजगारीका लागि विदेशिने अवस्थाको अन्त्य गरी स्वेदशमा नै स्वरोजगारीका अवसर सिर्जना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि सेनाले सैनिक कल्याणकारी गतिविधिमार्फत सम्बोधनका लागि अधिकतम प्रयास गर्दै आएको पनि प्रधानसेनापति थापाले बताए ।

सो अवसरमा तीन जिल्लामा बसोबास गर्ने मध्ये ज्येष्ठ भूतपूर्व सैनिक १०० वर्षीय नरबहादुर बस्नेत र १०४ वर्षीया एकल महिला गङ्गादेवी थापामगरलाई सम्मान गरियो । समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने सात जना आमाबुबालाई सम्मान गरियो । कल्याणकारी कोषले सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल दत्तुप्रसाद तिमिल्सिना र भूपू सैनिक राजन खत्रीकी श्रीमतीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस