बैंकिङ क्षेत्रमा तरलता अभावको जोखिम बढ्यो

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, १३ : २६
बैंकिङ क्षेत्रमा तरलता अभावको जोखिम बढ्यो

काठमाडौं । कोरोनाका बेला लगानी हुन नसकेको रकम यतिबेला धमाधम लगानी हुन थालेसँगै तरलता अभाव हुन्छ कि भन्ने आशंका गर्न थालिएको छ । दुई महिना अघिसम्म दुई खर्ब हाराहारीमा रहेको तरलता अहिले घटेर ५० अर्बमा झरेको छ । एक महिना वित्तीय बजारमा ६५ अर्ब रुपैयाँ हाराहारी तरलता थियो । पछिल्लो एक महिनामा १५ अर्ब रुपैयाँ तरलता घटेको बुधबारसम्मको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार होली पर्वको बिदा खुलेपछि पुनः लगानी हुने क्रम बढेर बुधबारसम्म तरलता ५० अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाएको उनले बताए ।

कोरोना महामारीका कारण लामो समय व्यापार–व्यवसाय ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिएको थियो । कर्जा लगानी नभएर बैंकमा पैसा थुप्रिंदा अर्थतन्त्र चलायमान हुन सकेको थिएन ।

बैंकहरूले कर्जा लगानी गर्न नसकेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनामा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल २ खर्ब ८३ अर्ब २९ करोड तरलता प्रशोचन गरेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ गरी कुल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो । गत वर्ष बैंकहरूमा अधिक तरलता हुनै नसकेर राष्ट्र बैंकले रिपोमार्फत ९० अर्ब ७३ करोड र स्थायी तरलता सुविधा मार्फत ६९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल १ खर्ब ६० अर्ब २८ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस