माछापालनप्रति किसानको आकर्षण बढ्दै

रासस

आइतबार, २२ चैत्र २०७७, १२ : ११
माछापालनप्रति किसानको आकर्षण बढ्दै

पर्वत । कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो ।सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ । मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् ।
     
सो नगरपालिकाका पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार कुश्मामा व्यावसायिक माछापालन गर्ने किसानको सङ्ख्या ४० पुगेको छ । नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका युवालाई वस्तुगत सहायता दिँदै आएको छ । नगरको सहायताका कारण माछापालनमा युवाको आकर्षण बढेको पशुसेवा प्रमुख सापकोटाले जानकारी दिए । सापकोटाले किसानलाई माछा पोखरी निर्माण र माछाका भुरा नगरपालिकाले वितरण गरेको बताए । 

“किसानलाई गत वर्ष पोखरी बनाउन सहयोग गरेका थियौँ”, सापकोटाले भने ,“यस वर्ष भुरा वितरण गरेका छौँ ।” किसान उत्साही भएर माछापालनमा लागेको उनले बताए । नगरपालिकाले शुक्रबार २२ किसानलाई भुरा वितरण गरेको छ । मागका आधारमा किसानलाई २५ हजार माछाका भुरा वितरण गरिएको हो । मागका आधारमा किसानले ५०० देखि पाँच हजार भुरा प्राप्त गरेका छन् । माछाका भुरा पाएपछि व्यवसायलाई थप प्रेरणा प्राप्त भएको किसान देवी क्षेत्रीले बताए ।

 क्षेत्रीले छ  वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएका छन् । उनले  आफूसँग छ हजार माछापालन गर्ने क्षमताका पोखरी रहेको जानकारी दिए । “लकडाउनको बेला मैले रु डेढ लाखका माछा बेँचे”, उनले भने , “बजारको माग धान्नै मुस्किल छ ।” मोदीखोला र कालीगण्डकी किनारमा माछापालन गर्ने किसान बढ्दै गएका छन् । 
    
नगरपालिकाले किसानको आकर्षण बढेपछि सहायता गर्न थालेको जनाएको छ । नगरप्रमुख रामचन्द्र जोशीले व्यावसायिक माछापालनलाई आगामी वर्ष थप बढाउने सोच रहेको बताए । उनले  उपयुक्त हावापानी र राम्रो बजार रहेको हुनाले नगरपालिका माछा ब्लक नै बनाएर किसानलाई सहयोग गर्ने योजनामा रहेको सुनाए । 
 

प्रतिक्रिया दिनुहोस