'सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप’ : नुवाकोटलाई हराउदै आर्मी फाइनलमा

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, २० : १९
'सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप’ : नुवाकोटलाई हराउदै आर्मी फाइनलमा

चितवन ।  चितवनमा जारी 'सेन्ट्रल कलेज स्व बिजय खड्गी स्मृति गोल्डकप फुटबल' मा नुवाकोट युनाइटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लबको फाइनलमा प्रवेश गरेको छ ।

आज (बुधबार) सम्पन्न पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित नुवाकोटलाई टाइब्रेकरमा ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

टाइब्रेकरमा नुवाकोटका सजिन थापा मगरको पहिलो प्रहार आकाशियो भने सागर स्याङ्तानको चौथो प्रहार आर्मीका गोल रक्षक महेश्वर श्रेष्ठले रोके । त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने नुवाकोटले लिएको थियो ।

खेलको चौथो मिनेटमा नै दिपेश आले मगरले उत्कृष्ट भली गोल गर्दै नुवाकोटलाई अग्रता दिलाए । पहिलो हाफमा नै नुवाकोटले अग्रता दोब्बर बनायो । ३५ औं मिनेटमा प्रयास तामाङले नुवाकोटलाई २-० को अग्रता दिलाए । पहिलो हाफमा खराब प्रदर्शन गरेको आर्मी दोस्रो हाफमा भने खेलमा फर्कियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै आर्मीले अग्रता छोट्यायो । आर्मीका सुशान्त चौधरीले गोल गरे ।

दोस्रो हाफको २० औं मिनेटमा नुवाकोट १० खेलाडीमा सीमित भयो । नुवाकोटका गोलरक्षक सुदिप गिरीले रातो कार्ड पाए । डि बक्स भित्र आर्मीका रिपु भुलानलाई लडाएपछि रेफ्रीले उनलाई पहिलो कार्ड दिदै आर्मीलाई पेनाल्टी दिएका थिए ।

खेलको म्यान अफ दि म्याच आर्मीका सुशान्त चौधरी भए । उपाधीका लागि आर्मीले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको बिजेतासँग खेल्नेछ । बिहीबार अफ्रिकन रूट्स एसोसिएसन (एआरए) र बागमती युवा क्लब सर्लाही फाइनल प्रवेशका लागि भिड्दैछ्न् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस