सेना जनताको आस्था र भरोसाको केन्द्र हो: प्रधानसेनापति थापा

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, १५ : २६
सेना जनताको आस्था र भरोसाको केन्द्र हो: प्रधानसेनापति थापा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताएका छन्  ।मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उनले  मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य भएको स्पष्ट गरे ।

प्रधानसेनापति थापाले भने, “हामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौ, र भविष्यका लागि पनि तयार रहने छौँ ।”

पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी समर्पित रही कर्तव्यपथमा  अघि बढिरहेको बताउँदै सेनाले जनचाहनाअनुरुप परिवर्तन र परिमार्जन हुदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फूर्तरुपमा आत्मसात् गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण्ण बनाउँदै आएको जनाएको छ ।

प्रधानसेनापति थापाले भने, “सेनाको भूमिकालाई अक्षुण्ण राख्ने कार्यमा भूपूसैनिकको भूमिका महत्वपूर्ण हुन्छ, अग्रज र हामीले बगाएको रगत पसिनाले राष्ट्रिय स्वाधीनता, अखण्डता कायम राख्न अहम् भूमिका खेलेको तथ्य इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएका छन् ।”

हामीसँग वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको उल्लेख गर्दै उहाँले हाम्रो इतिहास, गौरवमय परम्परा, उच्चस्तरको चेनअफ कमान्ड, अराजनीतिक चरित्र, एकताको भावना, अविछिन्न साङ्गठनिक लक्ष्यबाट निर्देशित रहँदै आएको  बताए। कुशल व्यावसायिकीकरण राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो, विश्वसनीय र व्यावसायिक फौजका रुपमा स्थापित सेनाले राष्ट्रिय स्तरमा आर्जन गरेको उत्कृष्ट छवि र विश्वासका आधारमा सरकारले सामरिक महत्वका राष्ट्र विकास र निर्माणमा सहभागी गराउँदै आएको छ ।

मुलुकको शान्ति सुव्यवस्था र स्थिरताको खातिर सेनाले गर्दै आएको योगदानले सबैलाई गौरवको अनभूति भइरहेको बताउँदै प्रधानसेनापति थापाले परिवर्तित परिस्थितिमा संविधानअनुरुप प्रादेशिक तहमा सेनाको साङ्गठानिक स्वरुपको व्यवस्थापन गर्दै प्राथमिक  र विशिष्ट जिम्मेवारी बहन गर्दै आएका छौँ भने ।सम्मेलनमार्फत सेनाले साझा सरोकारका विषयमा जानकारी लिँदै राष्ट्र र सेनाका लागि भूपूसैनिकले गरेको समर्पणको यथोचित सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस