न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न जेटियुसीसीको माग

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, ११ : २०
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न जेटियुसीसीको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघसँग संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसीसीले न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गरेको छ । बुधबार अध्यक्ष शेखर गोल्छासहितको महासंघका पदाधिकारीहरूलाई जेटियुसीसीका  अध्यक्ष जगत सिम्खडासहितको पदाधिकारीहरुले भेट गरि यस्तो माग गरेका हुन् । 

उद्योग वाणिज्य महासंघ र जेटियुसीसीका पदाधिकारीहरुसहितको उक्त भेटवार्तामा कोभिड महाव्याधीका कारण मुलुकको उद्योग व्यवसाय लगायत श्रम बजारमा पर्न गएको समस्या, अप्ठेरो समयमा श्रमिक कामदार कर्मचारीहरूबाट पाएको सहयोगका विषयमा छलफल भएको छ ।सोही अबसरमा जेटियुसीसीका तर्फबाट रोजगारदाताहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रह सहित जेटियुसीसीका पदाधिकारीहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । 

यता जेटियुसीसीका प्रतिनिधिमण्डलको स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले उद्योग व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटल लगायत केही उद्योगहरू अझै तङग्रन नसकेको बताए । मुलुकभित्र श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासंघ क्रियाशिल रहेको बताउँदै अध्यक्ष गोल्छाले लकडाउनका समयमा महासंघले जेटियुसीसीसंग नजिकमा रहेर काम गरेको प्रसंग उल्लेख गरे । 

मुलुकभित्र श्रम सम्बन्धलाई थप मजवुद बनाउन महासंघ र जेटियुसीसी बीचको सहकार्य अझ थप प्रगाड हुनुपर्नेमा उनले जोड दिए ।
सोही अबसरमा अध्यक्ष गोल्छाले अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको बनाउने र करिव २३ लाख थप रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले भिजन पेपरमा काम गरिरहेको स्पष्ट पारे । 

महासंघको यस लक्ष्यलाई पुरा गर्ने दिशामा सम्पूर्ण कामदार कर्मचारीहरूको पनि उत्तिकै सहयोग हुनेमा महासंघ आशावादी समेत रहेको बताए । 
छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहेका थिए । 

प्रतिक्रिया दिनुहोस