बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको चरणमा

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, १२ : ५१
बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको चरणमा

file-photo

बागलुङ । बागलुङको बलेवा विमानस्थल कालोपत्रको चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्रका लागि पूर्वाधारको सम्पूर्ण काम सकिएको छ । विमानस्थलको तारबार, नाली तथा ग्राभेलको काम सकिएको र अब कालोपत्रको मात्रै काम बाँकी रहेको छ । 
 

विमानस्थललाई बाह्रै महीना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत वर्षका फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दीका कारण निर्माणमा केही ढिलाइ भएको थियो । 

धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड रकमले कालोपत्र लागि पूर्वाधार निर्माणको काम प्रारम्भ गरिएको थियो । यही वैशाखभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिसक्ने तयारीका लागि लागेको निर्माण कम्पनीले जनाएको छ । 

नागरिक उड्डयन प्राधिकरणले कालोपत्र गर्नका लागि काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको थियो । वैशाखभित्र कालोपत्र सम्पन्न गरी जेठमै हस्तान्तरण गर्ने काष्ठमण्डप उमा एण्ड कम्पनीका फिल्ड इञ्चार्ज वासु थापाले जानकारी दिए ।

“अहिले विमानस्थलको कालोपत्रबाहेक सबै पूर्वाधार निर्माण सम्पन्न भएको छ, कालोपत्रका लागि प्लान्ट राख्ने तयारी थालिएको छ”, उनले भने , “वैशाखभित्रै विमानस्थल कालोपत्र गरेर सक्ने तयारी छ, अहिलेसम्म बेस, सब बेश, नाली तथा तारबारको काम सकिएको छ, कालोपत्र बिछ्याउन मात्रै बाँकी हो ।”

छब्बिस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालन आएर नेपाल एरलाइन्स तथा तारा एरलाइन्सले केही महीना उडान भरे पनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ ।

बागलुङ–१४ नारायणस्थानमा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरे पनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्र नहुनुलगायतका समस्याका कारण २६ वर्षपछि सञ्चालनमा आएको विमानस्थल पुनःबन्द भएपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्र गर्न थालेको हो । 

प्रतिक्रिया दिनुहोस