कावासोती । नवलपुरका विभिन्न सामुदायिक वनमा लागेको आगोले यस क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । यहाँ रहेका सामुदायिक वनमा लागेको आगोले जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँमय भएको छ ।
नवलपुरका अहिले करीब दुई हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिव श्रेष्ठले बताए । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा अहिले पनि ढडेलो लागेको भन्ने सूचना आइरहेकाले डढेलो लागेको वनको क्षेत्रफल बढ्न सक्ने सूचना अधिकारी श्रेष्ठले बताए ।
गत वर्ष नवलपुरमा ६०० हेक्टर क्षेत्रफलमा मात्रै डढेलो लागेकामा यो समय चैतको दोस्रो हप्ताभित्र नै दुई हजार हेक्टर बढी क्षेत्रफलमा डढेलो लागेको उनले बताए । नवलपुरको राजमार्ग क्षेत्रका सामुदायिक वनमा धेरै डढेलो लागेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार राजमार्ग आसपासका क्षेत्रमा चुरोट खाएर फालिदिने गर्दा आगलागी हुने गरेको छ । यस्तै सामुदायिक वनसँग विभिन्न कारणले मनमुटाव रहेका व्यक्तिले रिसले समेत आगो लगाएको पाइएको छ भने वन्यजन्तुको शिकार गर्न तथा वनमा आगो लगाएपछि च्याउ राम्रो आउँछ भनेर पनि आगो लगाउने गरेको उनले बताए ।
पहिलेपहिले खोरीया फाँड्न वनमा आगो लगाउन चलन भए पनि नवलपुरमा अहिले भने यस्तो नरहेको सूचना अधिकारी श्रेष्ठले बताए। नवलपुरमा करीब ७० हजार ४०० हेक्टर क्षेत्रफलमा वन रहेको छ । नवलपुरमा २०८ वटा सामुदायिक वन, १५३ वटा कबुलियती वन, आठ वटा धार्मिक वन, साझेदारी र चक्ला वन एक÷एक वटा रहेको छ । अहिले धेरैजसो वनमा डढेलो लागेको छ । पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ । अप्ठ्यारो स्थानमा लागेको आगो निभाउन असम्भव जस्तै देखिएकाले तत्काल नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छैन ।
सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि ढडेलोबाट वन जोगाउन भने सकेका छैनन् । अघिल्ला वर्षमा भन्दा यस वर्ष यहाँका सामुदायिक वनले डढेलो नियन्त्रणका लागि प्रभावकारीरुपमा काम नगरेको देखिएको छ । वैज्ञानिक वन व्यवस्थापन प्रणाली खारेजी, काठ दाउरा उपभोगमा लामो समय गरिएको प्रतिबन्धका कारण उपभोक्तामा नैराश्यता देखिएको वैज्ञानिक वन सञ्जाल नवलपुरका अध्यक्ष मधुविलास अधिकारीले बताए ।
यसै कारणले समेत संरक्षणमा उपभोक्ताको चासो कम भएको अनुमान गरिएको छ । जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ । धुवाँका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न हुन सक्ने मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताए । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउने जस्ता उपाय अपनाउन सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ चैत्र २०७७, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे
डढेलोले दुनाटपरी बनाउने उद्योग संकटमा
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु
ललितपुरमा डढेलो निभाउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर
वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी