आगामी बर्षको बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न आग्रह

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १६ : ११
आगामी बर्षको बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न  आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले आगामी बर्ष २०७८ /७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । अर्थमन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसंग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो ।

अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ताव भन्दा पनि अघिल्लो आर्थिक बर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न मन्त्रालयहरुलाई आग्रह गरेको हो । 

छलफलमा अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक बर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । उहाँले अगाडि नबढाई नहुने आयोजना भने अध्ययनको लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताए ।

अर्थमन्त्रालयले सरकारले उपलब्ध गराउने ससर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ । ससर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएको कारण अर्थमन्त्रालयले सम्बन्धीत मन्त्रालय र प्रदेशसंग छलफल गरेर मात्र अगाडी बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिए ।

अर्थमन्त्रालयले कार्यसंचालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसंचालन सम्बन्धी बजेट बृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो ।बजेट पुर्वको छलफलमा विभिन्न मन्त्रालयका सचिव, योजना तथा कार्यक्रम प्रमुखहरुले आ आफ्नो मन्त्रालयबारे धारणाराखेका थिए ।


 

प्रतिक्रिया दिनुहोस