आन्तरिक उडानमा नयाँ एयरलाइन्स थपिँदै

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १२ : ३२
आन्तरिक उडानमा नयाँ एयरलाइन्स थपिँदै

काठमाडौं । व्यावसायिक हवाइ उडान अनुमतिका लागि नयाँ एयरलाइन्सले सरकार समक्ष आवेदन दिएको छ। शिवम् एयरलाइन्सले आन्तरिक उडान गर्न अनुमति माग गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्‍त्रालयमा आवेदन दिएको हो।

दिनेश आचार्य संस्थापक रहेको यो कम्पनीले अनुमतिका लागि मन्‍त्रालयमा आवेदन दिएको हो। कम्पनीले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा छोटो धावनमार्ग भएका स्टोल विमानस्थलमा उडान गर्ने प्रस्ताव गरेको छ।

मन्‍त्रालय निकट स्रोतका अनुसार एयरलाइन्सले काठमाडौं लगायतका अन्य हव विमानस्थलबाट उडान गर्ने प्रस्ताव गरेको छ।उडान अनुमतिका लागि आवेदन परेपछि मन्‍त्रालयले अहिले अध्ययन समिति बनाइसकेको छ। एयरलाइन्सलाई अनुमति दिन सकिने वा नसकिने विषयमा अध्ययन गर्न एउटा समिति बनाइएको एक उच्च अधिकारीले जानकारी दिए।

उक्त समितिको सिफारिसका आधारमा मन्‍त्रालयले थप निर्णय गर्छ। समितिले कम्पनीको सेवा सञ्‍चालन गर्नसक्ने आधारहरु खोज्छ। कानूनी व्यवस्था पूरा गरेको वा नगरेको पनि हेर्छ। सबै हेरेर दिन सकिने सिफारिस गरेमा लाइसेन्स जारी हुन्छु मन्‍त्रालय निकट स्रोतले भन्यो।

मन्‍त्रालयबाट लाइसेन्स पाएपछि कम्पनीले एनओसीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिन्छ। मन्‍त्रालयले लाइसेन्स दिनुअघि पनि सुझावका लागि प्राधिकरणको राय लिन्छ।

प्राधिकरणले उडान सुरक्षाको ग्यारेन्टी तथा कम्पनीको सक्षमताका विषयमा अध्ययन गरेपछि एनओसी जारी गर्छ। यस्तो अनुमति पाएपछि एयरलाइन्सले जहाज खरिद गर्ने बाटो खुला हुन्छ। खरिद गरेपछि मात्र उडान अनुमतिको प्रक्रिया सुरु हुन्छ।

 

प्रतिक्रिया दिनुहोस