बधशालामा भैँसी र पाडापाडीको अभाव

रासस

शनिबार, २९ फागुन २०७७, १४ : ०५
बधशालामा भैँसी र पाडापाडीको अभाव

चितवन । जिल्लामा रहेको पशु बधशालामा बध गर्ने पशुको अभाव देखिन थालेको छ । पूर्वी चितवनको खैरहनीमा स्थानीय व्यवसायी मिलेर पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याएको बधशालामा जिल्लाको उत्पादनले अपुग भएपछि बाह्य जिल्लाबाट भैँसी र पाडापाडी ल्याउने गरिएको छ । बधशालाका अध्यक्ष मनोज खड्गी जिल्लामा मात्रै नभएर बाह्य जिल्लाबाट भैँसी र पाडापाडी ल्याउँदासमेत मागअनुसारको पु¥याउन नसकेको जानकारी दिए।

उनले भने, “चितवनमा मात्रै अहिले दैनिक ७० देखि ८० भैँसीको मासुको माग हुने गरेको छ । हामीले दैनिक १५ देखि १८ सम्म बध गरेर मासु बजारमा लाने गरेका छौँ ।” जिल्लामा किसानले भैँसी पाल्न छाडेका कारण बजारमा आवश्यकताअनुसारको मासु पु¥याउन बाह्य जिल्लाबाट ल्याउनु परेको भए पनि यसले अपुग भएको र  यसलाई व्यवस्थापन गर्नका लागि एक स्थानमा पशु हाटबजार सञ्चालन ल्याउनुपर्ने उनको माग रहेको छ ।


बधशालाका आगि आवश्यक भैँसी, पाडा धनगढी, नवलपरासी, जीतपुर र स्थानीय बजारबाट ल्याउने गरिएको छ । यहाँ उत्पादित मासु नारायणगढ, खोलेसिमल, पर्सा, रत्ननगर नगरपालिकाको बजारमा बिक्री हुँदै आएको छ । भारतबाट भैँसी आयातमा रोक लगाइएका कारण समस्या भएको संस्थापक बाबुराम शाहीले बताए । बजारमा बधशालाको मासु खानुपर्छ भन्ने ज्ञान बढाउनु आवश्यक रहेको उनले जानकारी दिए । 
 
उनले भने, “बधशालामा काटिएको मासु सफा हुन्छ भन्ने ज्ञान प्रयोगकर्तामा रहेको छ । तर महङ्गो भन्ने गरेका छन् ।” स्थापनाको समयमा पाँच÷छ वटा भैँसी मात्र खपत हुने सो बधशालामा अहिले माग बढ्दै गएको भए पनि आवश्यक पशु नपाउनुले बधशाला सञ्चालनमा समस्या आउँछ कि भन्ने आशङ्का उब्जिएको उनले बताए । उनले भने, “सरकारले बधशालामा काट्नुपर्ने नीति ल्याएर यसलाई अझै व्यवस्थित गर्नुपर्छ ।”

खैरहनी नगरपालिका–१ लालीगुराँस टोलमा सोही क्षेत्रका ४० जना मासु व्यवसायी मिलेर मिलीजुली पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याएका हुन् । घरायसीरुपमा मासु काटेर बेच्ने काम गर्दै आएका २२ जना र अन्य मासु पसल सञ्चालन गर्दै आएका व्यवसायी मिलेर स्थापना गरिएको सो बधशाला व्यवस्थित तबरले सञ्चालमा ल्याइएको हो ।

बधशाला सञ्चालनका लागि रु तीन करोडभन्दा बढी लगानी भएको जनाइएको छ । संस्थापक शेयर धनी सुमन शाहीका अनुसार बधशाला परिसरमा भैँसी र पाडापाडी राख्ने स्थान छुट्टै व्यवस्था गरिएको छ । कर्मचारीलाई आवास परिसर भित्रै रहेको छ । बधशालाबाट दैनिकरुपमा प्रसोधन भएर २० देखि २५ क्विन्टल मासु बिक्रीका लागि बाहिर लगिने गरेको छ । बधशालामा अहिले २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

अहिले यहाँबाट मासु मात्रै उत्पादन हुँदै आएको छ । यहाँबाट सुपथ मूल्यमा किसानलाई बिक्री वितरण गर्दै आइएको उनले जानकारी दिए । यहाँबाट ससेज, फ्रोजन मःम, रगतबाट माछाको दाना, हड्डीबाट कुखुराको दाना र प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस