पशुपतिनाथ मन्दिर साविक अनुसार नै खुला हुने

रासस

शुक्रबार, २८ फागुन २०७७, १६ : ११
पशुपतिनाथ मन्दिर साविक अनुसार नै खुला हुने

काठमाडौं । महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दीर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । 

विसं २०७६ चैत ११ गते कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो । कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर खुला गरिएको थियो ।

बिहीबार महाशिवरात्रिपछि आजदेखि भने विसं २०७६ चैत १० गतेसम्म खुला गरिएअनुसार मन्दिर खुला गरिएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिए । 

 आजदेखि नै पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । मध्याह्न करिब एक घण्टा भने पशुपतिनाथको पूजा एवं भोगका लागि मन्दिर बन्द गर्ने विधि छ । 
  
कोरोनाकालमा रोकिएको विशेष पूजा पनि कोषले फागुन २५ देखि शुरु गरेको छ । हाल रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आएका  साधुसन्तलाई शनिबार दक्षिणासहित बिदाइ गरिने भएको छ । शनिबार बिहान ९ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम राखिएको कार्यकारी निर्देशक खतिवडाले बताए । यस वर्ष कोषले रु १०० देखि रु १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ ।