फेर्न थालियो नेकपा अंकित साइनबोर्ड

पत्रपत्रिकाबाट

विहीबार, २७ फागुन २०७७, ०७ : २९
फेर्न थालियो नेकपा अंकित साइनबोर्ड

file photo

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्युँताएपछि एमालेको केन्द्रीय कार्यालयको साइनबोर्ड फेरिएको छ। एमाले केन्द्रीय कार्यालय मात्रै नभएर देशभरिका पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रम सुरु भएको छ ।

एकीकरणअघि एमाले केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा थियो। वि.सं. २०७५ जेठ ३ गतेको एकतापछि दुवै
ठाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयको साइनबोर्ड राखिएको थियो। एमालेका कार्यालय सचिव ईश्वरी रिजालले धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मङ्गलबार फेरिएको जानकारी दिए ।

उनले सर्वोच्चको आदेश कार्यान्वयनका लागि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको बताउँदै जिल्लामा पनि एमालेको कार्यालय भएको भवनमा धमाधम पार्टी कार्यालयमा रहेका बोर्ड फेर्ने काम भइरहेको जानकारी दिए । यस्तै माओवादीको पनि सोही अनुसार साइनबोर्ड फेर्ने काम भइरहेको खबर गोरखापत्रमा छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस