ककनी-पिपलटार सडक निर्माण अवरुद्ध, नयाँ ठेक्का अघि नबढाउन उच्च अदालतले दियो आदेश

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, ११ : ०१
ककनी-पिपलटार सडक निर्माण अवरुद्ध, नयाँ ठेक्का अघि नबढाउन उच्च अदालतले दियो आदेश

काठमाडौँ । ककनीदेखि पिपलटारसम्मको सडक निर्माणमा ढिलाई भएको छ । सडक निर्माणका लागि पटकपटक अवधि थप गरिए पनि निर्माण व्यवसायीले ढिलाइ गरेकाले बालाजु–त्रिशूली/छहरे–विदुर सडक योजनाले ठेक्का तोड्ने निर्णय गरेको थियो । गत असार १६ मा ठेक्का तोड्ने निर्णय भएको योजनाका प्रमुख जगत प्रजापतिले बताए । निर्माण व्यवसायीले सो निर्णय भएको भोलिपल्ट नै अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ ठेक्का अघि नबढाउन आदेश दिएको थियो ।

उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरूद्ध भएको छ । निर्माण शुरु भएको वर्षौं बित्दासमेत निर्माण व्यवसायीले निर्माणमा ढिलाइ गरेकाले ठेक्का तोड्नुपरेको प्रजापतिले बताए । उनले भने, ‘सात पटकसम्म अवधि थप्दा पनि काम सकिएको छैन ।’

अदालतको आदेशमा अन्तिम निर्णय नभएसम्म निर्माणको काम नगर्ने र नगराउने भन्ने उल्लेख भएकाले तत्काल अर्को ठेक्काबाट अघि बढ्ने अवस्था नभएको प्रमुख प्रजापतिले बताए । योजनाले पहल गरेपछि अहिले बल्ल मुद्दा अघि बढिरहेको छ । अदालतले ठेक्का तोड्ने पक्षमा फैसला गरेमा सो सडकमा थप काम गराउँदा व्यवसायीबाट असुल गराउने उनले जानकारी दिए । उनले भने, ‘अदालतबाट निर्णय भएपछि नयाँ ठेक्कामा जानका लागि अहिले सबैको काम भइरहेको छ ।’

यो सडकको लम्बाइ ३४ किमी रहेको छ । अहिले बालाजुबाट ककनीसम्म सडकको नालीको काम भइरहेको छ । अहिले चिसोले गर्दा कालोपत्र रोकिए पनि केही समयपछि कालोपत्र गर्न सकिने योजनाले जनाएको छ । विसं २०७०र७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा  स्थानीयवासी कठिन यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस