केपी ओलीलाई रेनु दाहालको जवाफ : भरतपुरकी मेयरलाई पिकनिक जाने फुर्सद छैन

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, १६ : ५४
केपी ओलीलाई रेनु दाहालको जवाफ : भरतपुरकी मेयरलाई पिकनिक जाने फुर्सद छैन

चितवन । भरतपुर महानगरपालिका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य रेनु दाहालले आफूलाई कामको व्यस्तताले पिकनिक जाने फुर्सद नभएको बताएकी छन् । 

आज भरतपुरमा भएको विजय सभामा प्रमुख दाहालले भनिन्, ‘मलाई पिकनिक जाने फुर्सद छैन, चार वर्षमा कति काम भरतपुरमा भएका छन् ? विकास निर्माणको चाङ छ, कतै जाने समय नै छैन ।’ 

प्रमुख दाहालले प्रधानमन्त्री केपी ओलीलाई जवाफ दिँदै भनिन्, ‘दिनरात जनताको काममा खटिएको छ । कहाँ गएँ म पिकनिक खान ?’ 

भरतपुरको बसपार्कमा भएको विजय सभामा महानगर प्रमुख दाहालले भनिन्, ‘केही दिनअघि यही ठाउँमा आएर प्रधानमन्त्री ओलीले मविरुद्ध  टिप्पणी गरेका थिए । खै तपाईको मेयर कहाँ गयो, पिकनिक खान गयो भनेर अत्यन्तै छुद्र अभिव्यक्ति दिए । आज म उनलाई जवाफ दिन चाहन्छु, भरतपुरकी मेयरलाई पिकनिक जाने फुर्सद छैन, सारा चितवनवासीलाई थाहा छ ।’ 

उनले प्रतिनिधि सभा विघटन बदर गर्ने ऐतिहासिक निर्णयका लागि सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र कानुन व्यवसायीलाई धन्यवाद दिएकी छिन् । 

उनले भरतपुर महानगरमा सिटी हल, गोन्द्राङ पुल्चोक ६ लेन सडक, रिंगरोड, लिंकरोडजस्ता राष्ट्रिय गौरवका आयोजना सञ्चालन भइरहेको बताइन् । ३ वर्षदेखि निरन्तर दिनरात लागेर धेरै नै सास्ती खपेर काम गरेको बताउँदै उनले भनिन्, ‘प्रधानमन्त्रीले ती आयोजना रोक्न खोजेका थिए, सकेनन्, अनि आफैँ आएर शिलान्यास गरे ।’