आज अपराह्नपछि बदली र वर्षाको सम्भावना

रासस

विहीबार, ०६ फागुन २०७७, १० : ५७
आज अपराह्नपछि बदली र वर्षाको सम्भावना

काठमाडौं । आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । अहिले बिहानपख भने काठमाडौं उपत्यकामा घाम लागेको छ ।

‘आज दिउँसो एक ,दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा हुने सम्भावना छ, राति फेरि मौसम क्लियर हुन्छ,’ वरिष्ठ मौसमविद वरुण पौडेलले  भने । यस्तो अवस्था काठमाडौं उपत्यकासहित प्रदेश १ र प्रदेश ३ मा हुने छ ।

पौडेलका अनुसार शुक्रबारबाट दुई ,तीन दिन भने पहाडी भूभागहरुमा आंशिक बदली मात्र हुने पूर्वानुमान गरिएको छ । तर तत्काल ठूलो पानी पर्ने मौसमी प्रणाली भने देखिएको छैन ।

बुधबार अपराह्नपख काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको थियो । प्रि मनसुन सिजन नजिकिएकै कारण बुधबार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको मौसमविद पौडेल बताउँछन् ।

मार्च, अप्रिल र मे महिनालाई प्रि(मनसुन अवधि मानिन्छ । फेब्रुअरीको आधा महिना समाप्त हुँदा तापक्रम बढ्दो क्रममा छ । ‘तापक्रम बढ्दा स्थानीय वायुहरुको प्रभाव बढ्छ र सानो(सानो क्षेत्रमा हल्का पानी पर्ने गर्दछ । हिजो भएको त्यही हो,’ मौसमविद पौडेलले भने ।

हिजो पानी परेकाले आज बिहान काठमाडौं उपत्यकामा चिसो बढेको महसुस भएको थियो । आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस