ट्रकमा ठोक्किएर मोटरसाइकलमा आगलागी, डाक्टर छोरा र व्यापारी बुबाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १८ : ५७
ट्रकमा ठोक्किएर मोटरसाइकलमा आगलागी, डाक्टर छोरा र व्यापारी बुबाको मृत्यु

धाडिङ । धाडिङमा मोटरसाइकल र ट्रक ठोक्किदा भएको आगलागीमा बुवा छोराको मृत्यु भएको छ। थाक्रे गाउँपालिका ८ चारकिलोको पेट्रोल पम्पनजिकै बिहीबार दिउँसो पौने १ बजे मोटरसाइकल दुर्घटना ट्रकमा ठोक्किएर आगलागी भएको थियो । 

धाडिङबाट काठमाडौं आउँदै गरेको बा प्र ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल बसलाई ओभरटेक गर्नेक्रममा ट्रकसँग ठोक्किएको थियो। ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी निरीक्षक रूपा थापाले जानकारी दिइन्।

मृतकहरू निलकण्ठ नगरपालिका ५ बस्ने ५९ वर्षीय बुवा बलराम अधिकारी र छोरा ३४ वर्षीय डा सुरेश अधिकारी छन्। प्रहरीले घटनापछि दुबैलाई काठमाडौंको टिचिङ अस्पताल पुर्‍याएको थियो। तर चिकित्सकहरूले उनीहरू दुबैलाई मृत घोषणा गरेको  थियो । दुर्घटनामा मृत्यु भएका सुरेश अधिकारी एमबिबिएस डाक्टर हुन्। सुरेशका बुवाले धाडिङमा कपडाको व्यापार गर्थे।

प्रतिक्रिया दिनुहोस