अवकाशपछि कोही पनि भौंतारिन नपरोस्: प्रधानसेनापति थापा

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, ०८ : १९
अवकाशपछि कोही पनि भौंतारिन नपरोस्: प्रधानसेनापति थापा

पोखरा । तनहुँ शुक्लागण्डकीकी स्मृति शर्मा वाग्लेले ३ लाख रुपैयाँमा सानो व्यवसाय सुरु गरिन् । सैनिक परिवारकी वाग्लेले व्यवसाय सुरु गरेपछि सैनिक कल्याणकारी कोषको लघुवित्त कर्जामा सहभागी भइन् र ७ लाख रुपैयाँ कर्जा लिइन् । अहिले उनको व्यवसायले ५० लाख रुपैयाँभन्दा बढी कारोबार गरिरहेको छ ।

वाग्ले बुधबार पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेक पोखराबाट सर्वोत्कृष्ट लघु व्यवसायीका रुपमा सम्मानित भइन् ।कल्याणकारी कोषबाटै लगानी लिएर व्यवसाय सुरु गरेका गोरखाका अवकास प्राप्त सैनिक चन्दसिंह बस्नेत उत्कृष्ट व्यवसायी बने । ८ लाख लगानीबाट सुरु गरेको बेमौसमी तरकारी खेतीको कारोबार अहिले ३० लाख पुगेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी सैनिक चोलाबहादुर खड्काकी श्रीमती सीता खड्काले सुजित एन्ड सुजाता किराना पसल सञ्चालनका लागि ७ लाख रुपैयाँ बुधबारै ऋण लिइन् । १५ लाख रुपैयाँ लघुवित्त तथा महिला उद्यमी कर्जा लिएर पोखरा ११ निवासी अवकास प्राप्त सैनिक परिवारकी गीता सापकोटाले किचन कर्नर थालेकी छन् ।

यसरी सैनिक कल्याणकारी कोषमार्फत कर्जा लिएर व्यवसाय थालेका, गरिरहेका र सफल भएका थुप्रै उदाहरण छन् । तर, अझै पनि धेरै भूपू सैनिक तथा तिनका परिवार देश, विदेशमा भौंतारिइरहेको देख्दा पीडाबोध हुने प्रधानसेनापति पूर्णचन्द्र थापा बताउँछन् । थापाले बुधबार पोखरामा भूतपूर्व सैनिक तथा तिनका परिवारलाई सम्बोधन गर्दै भने, ‘अवकास प्राप्त सैनिकले वैदेशिक रोजगारीको बाटो नरोजून् भनेर कल्याणकारी कोषमार्फत सेवा, सुविधा प्रदान गर्दै आइरहेका छौं । कल्याणकारी कोषबाट प्रदान गरिएका सेवा र सुविधा प्रयोग गरेर स्वदेशमै पौरख गर्न म अनुरोध गर्दछु ।’

२०३२ सालमा संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत मध्यपूर्वमा नेपाली सेना सहभागी भएबापत करिब १ करोड २४ लाख रुपैयाँ नगद प्राप्त गरेको थियो । त्यही रकमबाट सैनिक कल्याणकारी कोष स्थापना भएको थियो । २०७७ साल पुस मसान्तसम्म आइपुग्दा यो कोषमा ५७ अर्ब ९८ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस