दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, ०९ : ०६
दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार

 गलकोट । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको छ ।

दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारण लाइन निर्माण भएर केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि विद्युत् क्षेत्रमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । पर्वत जिल्ला र म्याग्दी जिल्लामा प्रसारण लाइन तथा सबस्टेशन निर्माण भए पनि बागलुङले समेत यसको प्रत्यक्ष लाभ लिन सक्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मे ३० मा दाना–खुर्कोट प्रसारण लाइन आयोजना निर्माण शुरु गरेको थियो । खोला नदीबाट विद्युत् उत्पादन गरेर मात्रै हुँदैन । उत्पादित विद्युत्को यथेष्ट प्रयोग माग र आपूर्तिका आधारमा सम्बन्धित क्षेत्रमा पुर्याउन जरुरी हुन्छ । यसका लागि एक स्थानमा उत्पादन भएको विद्युत् अर्को स्थानमा खपत गर्न सकिने अवसरका लागि केन्द्रीय प्रसारण लाइन र सब–स्टेशन निर्माण गर्नुपर्दछ ।

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएपछि बागलुङमा छुट्टै फिडर ल्याउने विकल्प तयार भएको छ

दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माणपछि धौलागिरिको उद्योग व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने आशा गरिएको छ । हालसम्म औद्योगिक ग्राम तथा ठूला उद्योगहरु साविक धौलागिरिका चार जिल्लामा छैनन् । अब ठूला उद्योगहरु सञ्चालनमा समेत यसले प्रोत्साहित गर्नेछ । उक्त प्रसारण लाइनले धौलागिरिमा मोदी खोला हुँदै विद्युत् भित्र्याउँदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरिको विद्युत् बाहिर पठाउँदै जाने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस