काठमाडौँ । सेयर बजारमा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या ३ लाख ६ हजार पुगेको छ । आफूलाई पायक पर्ने स्थानबाट विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, ब्रोकर कार्यालय पुग्नुपर्ने झन्झट नहुनेलगायत कारण अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण बढेको जानकारहरू बताउँछन् ।
विद्युतीय माध्यमबाट हुने कारोबारमा लगानीकर्ताले आफैं सेयर किनबेच गर्ने हो । सेयर किनबेचका लागि ब्रोकरलाई भनिरहनुपर्दैन । आफैं बजारको फ्लोरसिट (सेयर किनबेचको अवस्था) हेरेर चाहेको मूल्यमा कारोबार गर्न सकिन्छ । ब्रोकरले आग्रह मानेनन्, समयमा अर्डर गरिदिएनन्, मूल्य फरक पारेर किनबेच गरिदिए भन्ने गुनासो रहँदैन ।
आफैं बजारमा माग र आपूर्तिको अवस्था हेरेर चाहेको मूल्यमा सेयर किनबेच गर्न सकिने भएकाले अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण बनेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको भनाइ छ । ‘एक पटक लगइन लिएर कारोबार सुरु गरेपछि सेयर किनबेच गर्न सजिलो छ,’ उनले भने, ‘सेयर खरिदका लागि अरूलाई भनिरहनुपर्दैन ।’ पछिल्लो समयमा ‘पासवर्ड’ र ‘युजरनेम’ लिनेको संख्या बढ्नुले पनि अनलाइन कारोबारमा आकर्षण बढेको देखाउने उनले बताए ।
नेप्सेको तथ्यांकअनुसार हाल दैनिक कारोबारमा ८५ देखि ९० प्रतिशत कारोबार अनलाइन ९विद्युतीय० माध्यमबाट हुने गरेको छ । अनलाइन कारोबारका लागि आइतबारसम्म ३ लाख ६ हजार ६२ जनाले ‘पासवर्ड’ र ‘युजरनेम’ लिएका छन् । सोही अवधिमा ८ सय ८४ जना कर्पोरेट र ३९ वटा सामूहिक लगानी कोषले ‘पासवर्ड’ र ‘युजरनेम’ लिएका छन् । अनलाइन कारोबार गर्ने लगानीकर्तामध्ये २ लाख ३ हजार ७ सय ५२ जना पुरुष र १ लाख २ हजार २ सय १६ जना महिना छन् । बाँकी ९४ जना अन्य रहेको नेप्सेले जनाएको छ ।
पुँजीबजारको इतिहासमा करिब साढे दुई दशकपछि नेप्सेले २०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि झन्डै दुई वर्ष पुगिसकेको छ । अनलाइन कारोबार सुरु हुँदाताका लगइन लिने लगानीकर्ता संख्या न्यून थियो । गत चैत ६ सम्म लगइन लिएको संख्या २६ हजार ६ सय मात्र थियो ।
अनलाइन कारोबार सबैका लागि नयाँ भएको, नेप्सेको कारोबार प्रणालीमा पटकपटक समस्या देखिएको, लगानीकर्ता प्रविधिमा बानी नपरेकोलगायत कारण सुरुमा थोरैले मात्र लगइन लिएका थिए । पछिल्ला महिनामा अनलाइन कारोबारका लागि लगइन लिनेमा सर्वसाधारणदेखि सरकारी तथा निजी क्षेत्रका कर्मचारी, शिक्षक, चार्टर्ड एकाउन्टेन्टलगायत वाणिज्य तथा व्यावसायिक क्षेत्रका धेरै रहेको ब्रोकरहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ माघ २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला