अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा

एजेन्सी

बुधबार, २१ माघ २०७७, १४ : १३
अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा

अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन्  । सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ । 

अमेजनमा रहेको सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताएका छन्  । जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिहेका छन् ।

कोरोनाभाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाएका कारण अमेजनको पनि नाफा झण्डै दोब्बर अर्थात् ७।२ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कूल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो । 

अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यहरुमा सक्रिय रुपमा सहभागी हुने बताएका छन्   । उनले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहेका छन् । 

हाल ५७ वर्ष पुगेका बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट शुरु गरेका थिए । हाल अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा रिटेल व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले संगीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरु नवीन परियोजनामा काम गरिरहेको छ । 
उनका अन्य व्यवसायहरुमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लू ओरिजिन रहेका छन् ।

अमेजनको बजार मूल्य मंगलबार झण्डै १६ खर्ब ९० अर्ब डलरको रहेको छ । दश वर्षअघिको तुलनामा यो वृद्धि झण्डै १० गुणा बढी हो । [रासस–एएफपी]

प्रतिक्रिया दिनुहोस