एलपी ग्यास उद्योगमा चरम लापरबाही : ६० मध्ये ४६ उद्योगको मात्रै गुणस्तर चिह्न

पत्रपत्रिकाबाट

शनिबार, १७ माघ २०७७, ०८ : २४
एलपी ग्यास उद्योगमा चरम लापरबाही : ६० मध्ये ४६ उद्योगको मात्रै गुणस्तर चिह्न

काठमाडौँ । खाना पकाउने एलपी ग्यासमा चरम लापरबाही हुने गरेको पाइएको छ । उद्योग सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड उद्योगीहरूले पालना नगरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

उद्योगहरूमा पटकपटक गरेको अनुगमनमा कैफियतसमेत भेटिने गरेको विभागले जनाएको छ । ‘ग्यास उद्योगीहरूले एनएस चिह्न पनि समयमै लिएका छैनन् । अनुगमनका क्रममा चिह्न लिएका उद्योगले समेत मापदण्ड पालना गरेको देखिएन,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने । बोटलिङ प्लान्टका लागि नेपाल गुणस्तर चिह्न ऐन २०३७ अनुसार उद्योगहरूले नेपाल गुणस्तर चिह्न लिनुपर्छ ।

यसका लागि विभागले २०७३ कात्तिक २९ मा राजपत्रमा सूचना प्रकाशन गरेको थियो । सूचनाअनुसार ग्यास उद्योगले अपनाउनुपर्ने मापदण्ड तीन महिनाभित्र कार्यान्वयन गर्नुपर्ने थियो । तर ४ वर्ष बित्दा ६० उद्योगमध्ये ४६ वटाले मात्रै एनएस चिह्न लिएका छन् । एनएस चिह्न लिएर कारोबार गरिरहेका केही उद्योगमा समेत कैफियत भेटिएको पुडासैनीले बताए ।

‘एनएस चिह्न नलिएका उद्योगहरूमा कमजोरी छ, त्यही भएर उनीहरूले गुणस्तर चिह्न लिन सकेका छैनन् । यहाँ त गुणस्तर चिह्न लिएकामा समेत कैफियत देखियो,’ पुडासैनीले भने, ‘यो हेलचेक्रयाइँ हो । यस सम्बन्धमा आयल निगमलाई पत्र पठाइसकेका छौं ।’ विभागका अनुसार सिलिन्डरमा क्याप, होइड्रोस्टाटिक, लिकेज परीक्षणलगायत सम्पूर्ण मापदण्ड पूरा गर्नपर्छ । यसपछि निरीक्षणका लागि पुनः विभागमा निवेदन दिनपुर्छ ।

त्यसपछि विभागका निरीक्षण अधिकृतले अनुगमनरनिरीक्षण गरेर एनएस चिह्नका लागि आवश्यक सिफारिस गर्छन् । सुरक्षाको मापदण्ड र पूर्वाधार पूरा नगर्ने उद्योगलाई सीमित समय दिएर सुधार गर्न निर्देशन दिइन्छ । तर चार वर्ष बित्दा पनि सबै ग्यास उद्योगले एनएस चिह्न लिएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस