काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्ति तथा पदस्थापन गरेको छ । परिषद्को आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो ।
निरौला मुख्य न्यायाधीशमा नियुक्त भएसँगै सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त भएको छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले मुख्य न्यायाधीशमा नियुक्ति र पदस्थापन भएको जानकारी दिए । कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ ।
यस्तै उच्च अदालत जनकपुरमा कायम मुकायम मुख्य न्यायाधीशमा कार्यरत प्रकाशचन्द्र गजुरेललाई पनि मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ । गजुरेललाई जनकपुरमै पदस्थापन गरिएको छ । उच्च अदालत तुल्सीपुरमा कायम मुकायम मुख्य न्यायाधीश रहेकी नीता गौतम दीक्षितलाई मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ । दीक्षितलाई पनि तुल्सीपुरमै पदस्थापन गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ माघ २०७७, ०८ : ३४
लेखकबाट थप