विमान दुर्घटना : २३ जना बङ्गलादेशी यात्रुको शव बंगलादेश लगियो

सोमबार, ०५ चैत्र २०७४, १५ : ४९
विमान दुर्घटना : २३ जना बङ्गलादेशी यात्रुको शव बंगलादेश लगियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस–बांग्ला विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २३ जना बङ्गलादेशी यात्रुको शव सोमबार बंगलादेशको राजधानी ढाका पठाइएको छ ।

बिबिसी नेपाली सेवासँग कुरा गर्दै दूतावासका कन्सुलर अल अलेमुल इमामले नेपाली पक्षले मृतकको पहिचानपछि हस्तान्तरण गरेका बङ्गलादेशी नागरिकको शव बोकेको विमान अपरान्ह २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो । पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताएका छन् ।

बङ्गलादेशी नागरिकहरूको शव लिन बङ्गलादेशबाट  विशेष उडान काठमाण्डौँ आएको थियो । विमान ४ बजे ढाकास्थित हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

ती शवहरू ढाकाको विमानस्थलबाट सैनिक रङ्गशाला लगिनेछ जहाँ विशेष प्रार्थनासभा आयोजना हुँदैछ । दुर्घटनामा घाइते भएका १० जना बांग्लादेशी यात्रुमध्ये थप उपचारका लागि आठ जनालाई ढाका र दुई जनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए । अझै तीन जना बङ्गलादेशी यात्रुको शव पहिचान हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस