तराईमा अत्याधिक चिसोले ४ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, ०९ : २६
तराईमा अत्याधिक चिसोले ४ जनाको मृत्यु

जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ ।

प्रदेश नं २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न  १२७ ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए ।