प्रतिनिधि सभा विघटन गणतन्त्र विरुद्धको कदम : नेकपा क्रान्तिकारी माओवादी

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, ११ : ५०
प्रतिनिधि सभा विघटन गणतन्त्र विरुद्धको कदम : नेकपा क्रान्तिकारी माओवादी

फाइल तस्विर

काठमाडौं । काठमाण्डौमा नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको आकस्मिक बैठक पार्टीका महासचिव मोहन बैद्य किरणको अध्यक्षतामा बस्यो ।  २०७७ पौष २४देखि २६ गतेसम्म बसेको बैठकमा लिइएका महत्वपूर्ण निर्णयहरुलाई प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।

बैठकमा क्रान्तिकारी माओवादीले मध्यावधि चुनाव हुन नसकेमा देश पुनरुत्थानवाद वा झनै निरङ्कुशतावादको बाटोमा जान सक्ने खतरा औँल्याएको छ ।  महासचिव किरण ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा सो खतराको आँकलन गरिएको हो ।

प्रेस–वक्तव्य मार्फत सार्वजनिक गरिएको निर्णयहरु निम्नानुसार छन् । 

१. बैठकमा सर्वप्रथम विभिन्न जनआन्दोलन, जनयुद्ध र विश्वक्रान्तिका ज्ञात–अज्ञात सबै अमर सहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

२. महासचिव क. किरणद्वारा बैठकमा “वर्तमान परिस्थिति र पार्टीको कार्यभार” शीर्षक राजनीतिक प्रस्ताव प्रस्तुत गरियो । आवश्यक विचार, विमर्स, थपघट र परिमार्जन सहित सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरियो ।

३. सो प्रस्तावमा प्रतिनिधि सभा विघटनको कदमलाई एकातिर आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम र अर्कोतिर गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताका विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासीवादी कदमका रुपमा विश्लेषण गरिएको छ ।

४. उक्त राजनीतिक प्रस्तावमा नेपाली राजनीतिक क्षितिजमा तीन प्रकारका संभावना वा परिदृश्य देखापरेको उल्लेख गरिएको छ । त्यस अनुसार — पहिलो, संसदीय मध्यावधि निर्वाचन वा पुनस्थापना गरिएका दुवै अवस्थामा विद्यमान सङ्कटको समाधान हुन सक्दैन । दोस्रो, देशीय प्रतिक्रियावादी शक्तिहरुबीचका अन्तर्विरोध तथा वैदेशिक चलखेल बढ्दै गएमा वा अन्य कुनै कारणले मध्यावधि चुनाव हुन नसकेमा देश पुनरुत्थानवाद वा झनै निरङ्कुशतावादको बाटोमा जान सक्तछ । तेस्रो, वामपन्थी, देशभक्त तथा जनवादी शक्तिहरु एकतावद्ध भई संयुक्त सङ्घर्षलाई प्रभावकारी ढङ्गले विकसित तुल्याउन सकेमा देश अग्रगामी निकास तर्फ अगाडि बढ्न सक्तछ । प्रस्तावमा उक्त तीन संभावना मध्ये तेस्रो संभावना तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिइएको छ ।

५. केन्द्रीय समितिको बैठकमा पारित राजनीतिक प्रस्तावमा वर्तमान सत्ता तथा व्यवस्थामा पैदा भएको सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान सङ्घीय जनगणतन्त्रको स्थापना बाटै हुने कुरा उल्लेख गर्दै त्यसका लागि देशभक्त, जनवादी तथा वामपन्थी शक्ति, समूह तथा व्यक्तित्वहरुका बीच बलियो संयुक्त मोर्चा तथा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्ने निष्कर्ष निकालिएको छ ।

६. बैठकले नेपालको कृषि क्षेत्रमा विदेशी पुँजीे लगानी गर्न दिने ओली सरकारको हालैको निर्णयले नेपालका आम साना किसानको जीवन निर्वाहको बाटो नै समाप्त गरिदिने र नेपाली कृषिजन्य व्यवशायलाई समेत विस्थापित गर्ने हुनाले यो निर्णय जनघाती मात्र होइन राष्ट्रघाती समेत भएको ठहर गरी त्यसको तुरुन्त खारेजीको माग गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस