राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्धारा चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन

आइतबार, ०४ चैत्र २०७४, १० : ११
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्धारा चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेकी छिन् ।

बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा वाङ क्वीसानलाई बधाई ज्ञापन गरेका छन् । उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुद हुने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिङ फिङ पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । प्रधामन्त्री ओलीको सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताएका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख गरेका छन् ।

साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति फिङको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गरेका छन् । -रासस

प्रतिक्रिया दिनुहोस