प्रतिनिधि सभा विघटन भएसँगै ३८ विधेयक निस्क्रिय

सफल खबर संवाददाता

आइतबार, १९ पुस २०७७, १६ : २३
प्रतिनिधि सभा विघटन भएसँगै ३८ विधेयक निस्क्रिय

काठमाडौँ । प्रतिनिधि सभा विघटन भएसँगै प्रतिनिधि सभामा कायम रहेका ३७ विधेयक र प्रतिनिधि सभाले शन्देशसहित राष्ट्रिय सभामा पठाएको एक विधेयक गरी ३८ विधेयक निस्क्रिय बनेका छन् । 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै निकै समय, श्रम र खर्च लगाएर तयार पारिएका ३८ वटा विधेयक निस्क्रिय बनेका छन् । विधेयक निस्क्रिय भएसँगै प्रतिनिधि सभाको मेहनत त खेर गएको छ नै, आगामी दिनमा यी विधेयकहरुलाई पुनः सुरुवातकै विन्दुबाट शुरु गर्नुपर्ने हुन्छ । 

प्रतिनिधि सभामा दर्ता भई वितरण भएका ५ वटा गैरसरकारी सहित १२ वटा विधेयक, सभामा प्रस्तुत मात्रै भएका ४ वटा विधेयक, राष्ट्रिय सभाबाट शन्देश पठाएर प्रतिनिधि सभामा टेबुल भएका ४ विधेयक, राष्ट्रिय सभाको सन्देशमाथि विचार गर्न बाँकी २ वटा विधेयक, प्रतिनिधि सभाका विभिन्न समितिमा विचाराधिन १० वटा विधेयक, प्रतिनिधि सभाका समितिका प्रतिवेदन हाउसमा पेश भएका ५ वटा विधेयक गरी जम्मा  ३७ वटा विधेयक प्रतिनिधि सभामा विचाराधिन अवस्थामा रहेका थिए । प्रतिनिधि सभाले शन्देशसहित राष्ट्रिय सभामा एउटा विधेयक पठाएको थियो । यससँगै ३८ विधेयक निस्क्रिय हुने अवस्थामा पुगेको हो । 

यी विधेयकहरु कानूनी प्रावधान एवं संवैधानिक व्यवस्था अनुसार निस्क्रिय हुने संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले बताए । निस्क्रिय हुने विधेयकहरुमा संघीय निजामती सेवा विधेयक २०७५, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५, लोकसेवा आयोग विधेयक २०७५, सूचना प्रविधि सम्बन्धी विधेयक २०७५, राष्ट्रिय सुरक्षा परिषद् विधेयक २०७५ लगायतका महत्वपूर्ण विधेयकहरु रहेका छन् । यी विधेयकहरु पास हुन ढिलाई हुँदा आवश्यक कानून बन्नसमेत ढिलो हुने देखिएको छ । 

राष्ट्रिय सभातर्फ भने १८ वटा विधेयक कायम रहेका छन् । ८ वटा विधेयक सभामा र १० वटा विधेयक समितिमा विचाराधीन अवस्थामा रहेका छन् । यी विधेयकहरुलाई सबै प्रक्रिया पूरा गरी अघि बढाउन सकिने भएपनि प्रतिनिधि सभा नभएको अवस्थामा कानून बन्ने प्रक्रिया रोकिन्छ ।  बिधेयकले  राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै प्रक्रिया पुरा गरेपछि मात्र कानूनको रुप पाउछ । 

भर्खर शुरु भएको अधिवेशनमा राष्ट्रिय सभा मात्र चल्ने भएकोले र बिधेयक माथिको छलफल भए पनि सरकारले राष्ट्रिय सभालाई बिजनेस दिएमात्रै सभा क्रियाशिल हुने र सरकारले विजनेस नल्याए यि विधेयकहरुको प्रक्रिया सकिएपछि सभाले बिजनेस पाउने अवस्था नरहने प्रवक्ता धमलाको भनाई छ ।

यसरी निकै रकम, समय र स्रोत साधन खर्चेर तयार गरी छलफल गरिएका र पास गर्ने दिशामा अघि बढेका विधेयकहरु निस्क्रिय हुँदा यसको व्ययभार राज्यलाई निकै पर्नेछ । आगामी दिनमा पुनः सुरुवातको विन्दुबाट विधेयकको प्रक्रिया अघि बढ्ने हुँदा उत्ति नै खर्च र समय लाग्ने देखिन्छ ।