बालविवाह न्यूनीकरण अभियान

शनिबार, ०३ चैत्र २०७४, १४ : ४५
बालविवाह न्यूनीकरण अभियान

रोल्पा । जिल्लामा बढ्दै गएको बालविवाह न्यूनीकरण गर्ने भन्दै रोल्पाका सरोकारवाला चेतनामूलक कार्यक्रममा जुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको अगुवाइमा जिल्लाका अन्य सरकारी तथा गैरसरकारी निकायको सहभागितामा समुदायमा आधारित सचेतनामूलक कार्यक्रम सञ्चालन हँुदै आएको छ ।

जिल्लाका सबै गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि सडक नाटक, अन्तक्र्रिया, पोष्टरिङ तथा घरदैलो भेटघाटका माध्यमबाट त्यस्ता कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लाको माडी, सुवर्णावती, लुंग्री गाउँपालिका र रोल्पा नगरपालिकामा सो कार्यक्रम सञ्चालन गरिसकेको प्रहरीले बाँकी गाउँपालिकामा समेत कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

जिल्लामा हत्या, हिंसा, चोरी डकैतीजस्ता जघन्य अपराध नदेखिए पनि घरेलु हिंसा र जातीय विभेद ब्याप्त रहेको हुँदा यस्ता कुसंस्कारको न्यूनीकरणका लागि आफूहरु लागि परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बताउनुभयो ।

प्रहरी कलाकारद्वारा नै सडक नाटकका माध्यमबाट यस्ता विकृति न्यूनीकरणका अभियान सञ्चालन गरेका छाँै फुयालले भन्नुभयो । सामाजिक चेतनाको स्तर निकै पछि रहेका कारण देशका अन्य जिल्लाको तुलनामा रोल्पामा यस्ता समस्या देखिएको उहाँले बताउनुभयो ।

बालविवाह न्यूनीकरणका लागि आफूहरुले पनि पटकपटक अभियान चालेको भए पनि सार्थकता पाउन नसके पनि प्रहरीको अभियानले यसलाई थप सहयोग गर्ने लुग्री गाउँपालिकाका अध्यक्ष दुर्गा खड्काले विश्वास व्यक्त गर्नुभयो । विद्यालयस्तरीय कार्यक्रमका माध्यमबाट सामाजिक विकृति अन्त्य गर्न मद्दत पुग्ने खड्काको भनाइ छ । बालविवाहकै कारण जिल्लामा सम्बन्धबिच्छेद गर्नेको संख्यासमेत थपिँदै जाँदा पारिवारिक बिग्रह बढ्दै गएको खड्काले बताउनुभयो ।

जिल्लामा किशोरी शिक्षाका माध्यमबाट बालविवाह न्यूनीकरणको अभियान पनि सञ्चालन हुँदै आएको किशोरी शिक्षा सहजकर्ता तीर्था आचार्यले बताउनुभयो । प्रहरी, विभिन्न संघ संस्था र अभियन्ताको साझा प्रयासले बालविवाह न्यूनीकरण हुँदै गएको आचार्यले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस