काठमाडौँ । सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कोभिडको उपचार हुनेछ ।
‘हाललाई सरकारी अस्पतालमै कोभिड बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोभिड उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले आइतबार १२ बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर १० दिनसम्म उपचार गराउने संक्रमितहरूको मात्र उपचारबापतको रकम शोधभर्ना गर्ने जनाएको छ ।
५२ सरकारी र २७ निजी स्वास्थ्य निकायबाट कोभिडको निःशुल्क उपचार र परीक्षण हुँदै आएको थियो । निजी स्वास्थ्य निकायमध्ये ८ वटा मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन । ‘अहिले सबैजसो अस्पतालहरूमा कोभिड बिरामीलाई बेड, आईसीयू र भेन्टिलेटर सेवा पाउन गाह्रो छैन,’ डा। अधिकारीले भने, ‘केस कम भएको र संक्रमितहरू घरमै बस्ने गरेकाले यस्तो भएको हुन सक्छ ।’ कोभिडको जटिलताले गर्दा आइतबार देशभर २ सय ३५ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा गरी कुल २ सय ८८ जना सघन उपचारमा छन् । वाग्मती प्रदेशमा ८२ जना आईसीयू र २७ जना भेन्टिलेटरमा छन् ।
हाल कोभिड उपचारकै लागि देशभर १ हजार १ सय ४६ आईसीयू शय्या र ४ सय ६१ भेन्टिलेटर छ । प्रदेश १ मा १ सय १० आईसीयू र ४० भेन्टिलेटर, प्रदेश २ मा ४८ आईसीयू र २० भेन्टिलेटर, वाग्मतीमा ५ सय ५३ आईसीयू र २ सय ५५ भेन्टिलेटर, गण्डकीमा २ सय ३२ आईसीयू र ६८ भेन्टिलेटर, लुम्बिनीमा १ सय १४ आईसीयू र २७ भेन्टिलेटर, कर्णालीमा ६२ आईसीयू र २७ भेन्टिलेटर तथा सुदूरपश्चिममा २७ आईसीयू र २३ भेन्टिलेटर छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १३ पुस २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन