आफूविरुद्ध बोल्ने सबै नेताहरुको उच्च निगरानी राख्दै केपी ओली

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, ११ : ५६
आफूविरुद्ध बोल्ने सबै नेताहरुको उच्च निगरानी राख्दै केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध बोल्ने सबै नेताहरुका उच्च निगरानी राख्न थालेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्‍त्री कार्यालयकै मातहत छ ।  नेकपा विभाजनपछि प्रधानमन्त्रीकै निर्देशनमा गुप्चरले उनीहरुका गतिविधिविरुद्ध निगरानी सुरु गरेको स्रोतले जानकारी दिएको छ ।

गुप्तचरको नामले चिनिने राष्ट्रिय अनुसन्धान विभागले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालविरुद्ध उच्च निगरानी सुरु गरेको हो ।

ओलीले संसद् विघटन गर्नुअघि नै आफूविरुद्ध बोल्ने सबै नेताहरुका क्रियाकलाप, उनीहरुले गर्ने भेटघाटलगायत गतिविधिविरुद्ध उच्च निगरानी राख्‍न निर्देशन दिएको स्रोतले बताएको छ । 

गुप्तचर स्रोतका अनुसार विगतमा समेत उच्च नेताका निवासवरपर निगरानी रहँदै आएको र विभाजनपछि उनीहरुले गर्दै आएका भेटघाटका सूचना संकलन गर्न अझै सक्रियता बढाइएको छ । प्रचण्ड, नेपाल र खनाल तीनैजना पूर्वप्रधानमन्त्रीसमेत हुन् ।

राष्ट्रिय अनुसन्धान विभागले सोझै प्रधानमन्‍त्रीलाई रिपोर्टिङ गर्ने गरेको छ । सादा पोसाकमा परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले तीनजना नेताहरुको निवास वरपर खटिएका छन् ।

यस्तै प्रधानमन्‍त्रीको ओलीका गतिविधि नचुहाउनसमेत अन्य सुरक्षा निकायलाई निर्देशन दिइएको छ । प्रधानमन्त्रीका धेरैजसो भेटघाट पछिल्लो समय गोप्य राखिने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

ओली र प्रचण्ड-माधव समूह एक-अर्काप्रति आक्रामक बन्दै आएका छन् । संसद् विघटनको विषय अदालतमा प्रवेश गरेको छ । दुवै समूहले देशभर कार्यकर्ता भेलालगायत गतिविधिअगाडि बढाएका छन् । संसद् विघटनबारे अदालतको फैसलापछि दुवै समूह एक-अर्काप्रति थप आक्रामक बन्ने सम्भावना देखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस