काठमाडौं । राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि चुनावको विषयमा चर्चा हुन थालेको छ । संसद विघटनपछि गरिएको चुनावको मिति घोषणाले राजनीति मात्र होइन अर्थवृत्तमा पनि तरङ्ग ल्याएको छ । हरेक चुनावमा खर्च बढ्दै गएको विगतको तथ्याङ्कले देखाउँछ । आर्थिक गतिविधि बढाउने भए पनि यस्तो बेला अनौपचारिक अर्थतन्त्र मौलाउनेतर्फ विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । अर्कोतर्फ व्यवसायीहरुमा चन्दा आतङ्क बढ्ने भएकाले व्यावसायिक जगतमा पनि तरङ्ग ल्याएको छ ।
एक व्यवसायी भन्छन्, ‘चुनाव आउँछ, हामी व्यवसायीलाई चन्दा दिँदा हैरानी हुन्छ । यस पटक कोभिडले व्यापार व्यवसाय नचल्दा समस्या परेको छ । अर्कोतर्फ चुनावमा राजनीतिक दलहरु चन्दा माग्न आउने चिन्ताले सताउन थालेको छ ।’ निर्वाचन आयोगले तोकेको सीमाभन्दा बाहिर गएर धेरै खर्च हुन्छ । ती खर्चहरु हामीजस्तै व्यापारीबाट जुटाउने हो’, ती व्यवसायीले भने ।
चुनावको बेलामा विशेषगरी औपचारिक च्यानलभन्दा बाहिर रहेको नगद बजारमा पुग्छ । विशेषगरी सरकारलाई कर नतिरेको पैसा निस्कन थाल्छ । अनौपचारिक अर्थतन्त्रमा बसिरहेको नगद बजारमा आएपछि आर्थिक गतिविध त बढाउँछ नै तर यो टिकाउ हुँदैन । यस्तो अनुत्पादक क्षेत्रमा बढी रकम खर्च हुने भएकाले कालान्तरमा अर्थतन्त्र टिकाउ नबनाउने विज्ञहरुले बताउँदै आएका छन् ।
सरकारले यसअघि गरेको प्रतिनिधि सभाको चुनावमा २० अर्ब रुपैयाँ खर्च गरेको छ । तर त्योभन्दा बढी चुनाव जित्नका लागि पार्टीहरुले आफ्नो तर्फबाट खर्च गरिरहेका हुन्छन् । दैनिक रूपमा हुने भोजभतेर र साना खर्चको त कुनै लेखाजोखा नै हुँदैन । अर्कोतर्फ मतदाता, कार्यकर्ता खरिदका लागि ठूलो रकम खर्च गर्छन् राजनीतिकदलहरु । यसैले पनि चुनावको बेला विशेषगरी राजनीतिक भ्रष्टाचारसमेत मौलाउने बताइन्छ । केही उम्मेदवारहरु त पार्टीले टिकट दिन चाहे पनि आफूसँग चुनाव लड्ने पैसा नभएकै कारण टिकट लिन नमानेका केही उदाहरण पनि छन् । अर्थविद् डा। शङ्कर शर्मा चुनावले भ्रष्टाचार बढाउने बताउछन् । यसबेला अनौपचारिक अर्थतन्त्रका रकमहरु बजारमा आउने र जथाभावी खर्चले भ्रष्टाचार समेत बढाउने उनको तर्क छ ।
चुनावमा हुने आर्थिक गतिविधिमा यी क्षेत्र यसरी जोडिन्छन्
सरकारलाई कर नतिरेको रकम चुनावको बेला निस्कन थाल्छन् । अनौपचारिक अर्थतन्त्रमा बसिरहेको नगद बजारमा आउँछ । यसले आर्थिक क्रियाकलाप चलायमान बनाउँछ । कर तिरेको पैसा धेरै निस्कँदैन । अनौपचारिक अर्थतन्त्रको नगद बजारमा आएपछि आर्थिक क्रियाकलाप बढाउँछ । चुनावको बेला होटल, रेस्टुरेन्टहरुको व्यापार बढ्ने, मासु र रक्सी पसल व्यस्त हुने, गाडी भाडामा लिएर चुनावी विज्ञापन गर्ने, तुल र पोस्टर टाग्ने, पर्चा टाँस्ने जस्ता गतिविधि बढ्न थाल्छ । यसले प्रेस र होटल रेस्टुरेन्टको आम्दानी त बढाउछ नै । यसबाट अलिकति चुहिएर कुखुरा, खसी बङ्गुर पाल्ने किसानका उत्पादन पनि बिक्री हुन थाल्छ । प्रायः तल्लो तहका किसानले यसबाट थोरै भए पनि फाइदा लिन सक्छन् । केही स्थानीय मदिरा बिक्री भए पनि आयातित रक्सीको बिक्री पनि बढाउँछ । गाडी चल्ने, पोस्टर बनाउने जस्ता कार्य हुँदा पेट्रोल, डिजेल र मसी कागजका लागि ठूलो रकम बाहिरिन थाल्छ । चुनावका लागि गाउँमा युवाहरु परिचालन हुन्छ यसले निश्चित समयका लागि रोजगारी प्रदान गर्छ ।
अर्थविद् केशव आचार्य यसले उद्योग व्यवसाय फस्टाउन र दीर्घकालीन रोजगारीको अवसर सिर्जनामा भने सघाउ नपुर्याउने बताउँछन् । चुनावमा पेट्रोल, मसी, कागज रक्सी लगायतको आयात बढ्ने भएकाले ठूलो रकम बाहिरिने उनको भनाइ छ । उनका अनुसार यसले व्यापारघाटा झन बढाउछ । अर्थविद् आचार्य चुनावमा बढेको आर्थिक गतिविधिको सकारात्मक असरभन्दा नकारात्मक असर बढी हुने बताउँछन् ।
कोभिडले थलिएको आर्थिक गतिविधि जुरमुराउन थाले पनि खाद्यान्न खरिद बढ्ने भएपछि महँगी बढ्न सक्छ । मासु खपत बढ्दा यसको लाभको सानो हिस्सा किसानसम्म पनि पुग्छ ।(रातोपाटीबाट)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
त्रिवि प्राध्यापक संघको चुनाव साउनभित्र गर्ने सहमति
हिमाचलबाट अभिनेत्री कंगनाले जितिन् चुनाव
राष्ट्रिय सभा चुनावका लागि सत्ता गठबन्धनले बनायो समन्वय समिति