सुत्केरी र वृद्धवृद्धालाई थप एक हजार भत्ता

शुक्रबार, ०२ चैत्र २०७४, १५ : १७
सुत्केरी र वृद्धवृद्धालाई थप एक हजार भत्ता

तेह्रथुम । मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ ।

सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात खर्चबापत रु चार सय उपलब्ध गराउँदै आएको छ ।

त्यसबाहेक स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने मोराहाङका महिलालाई थप रु एक हजार तथा श्रीजुङ र पौठाकका महिलालाई थप रु एक हजार ५०० यातायात खर्च गाउँपालिकाले उपलब्ध गराउने भएको हो ।

पहिलो गाउँसभाबाट मातृ तथा शिशु मृत्युदर कम गर्न तथा स्वास्थ्य संस्थाको पहुँच वृद्धि गर्न गाउँपालिकाले यस्तो नीति लिएको गाउँपालिकाका उपाध्यक्ष गीता गौतमले बताउनुभयो । गाउँपालिकाले ८५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मानस्वरुप वार्षिक रु एक हजार उपलब्ध गराउने निर्णय समेत गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस