सत्ता उन्मादमा फसेका ओली पश्चगनको मतियार बन्दै

बहुमतका आधारमा निर्णय गर्न नेकपा तयार

ओली र उनको गुटले स्थायी कमिटि र महाविधेशनपछिको सबैभन्दा सर्वोच्च निकायको रुपमा रहेको केन्द्रीय कमिटबाट हुने निर्णयलाई स्वीकार गर्नुपर्दछ

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, ०९ : २७
बहुमतका आधारमा निर्णय गर्न नेकपा तयार

काठमाडौं । सत्तारुढ नेकपाभित्रको घर झगडाले कसरी पार पाउला भन्ने विषयमा यतिखेर सर्वत्र चासो बढिरहेको छ । विशेषगरी खड्ग ओलीको गलत कार्यशैली र रवैयालाई लिएर शुरु भएको घर झगडालाई लम्ब्याउन, तन्काउन र सकेसम्म विभाजनको मुखमा धकेलेर आफ्नो स्वार्थसिद्ध गराउन एउटा गिरोह नै लागिपरेको छ । उक्त गिरोह परिचालन गर्न स्वमय् खड्ग ओली नै परिचालित छन् । उनले आफूबाहेक अरु सबै बेठिक तथा अरु सबै चरित्रहीनको आरोप लगाएका छन् । सत्ताको चास्नीमा नराम्ररी भूलेका उनले पार्टी फुटे पनि फुटोस् तर आफनो पद भने जानु हुँदैन भन्ने शैलीमा व्यवहार देखाइरहेका छन् । 

आगामी फागुन ३ गते खड्ग ओली नेतृत्वको सरकार गठन भएको तीन वर्ष पूरा हुन्छ । यसबीचमा जनताको पक्षमा के निर्णय गरियो र के काम भयो भनेर स्वतन्त्र मूल्यांकन गर्ने हो भन्न लायक र सम्झन लायक कुनै पनि काम देखिँदैन । बालुवाटारमा बसेर षड्यन्त्र, जालझेल तथा भ्रष्टाचार गर्नु बाहेक सरकारको नाममा अरु कुनै पनि सकारात्मक विषय नै पर्न सकेको छैन् । मानिसहरुमा चरम निराशा फैलिएको छ । जनताको शक्ति भनिएको नेकपाले चरम दक्षिणपन्थी शैलीमा सरकार चलाएको छ । परिवर्तनका सारा एजेण्डाहरु मृतप्रायः भएका छन् । 

आशा जगाउने भन्दा पनि निराशा बढाउने काममा मात्रै सरकार प्रयत्नशील छ । मानिसहरुका चाहना र अपेक्षामाथि कुठाराघात गरेर ओली सरकारले दिन कटाउने र समय गुजार्ने भन्दा अरु कुनै पनि काम गर्न सकेको छैन् । तथ्य र प्रमाणहरु भन्छन्–खड्ग ओलीले पार्टी, देश र जनताको हित भन्दा आफना चाटुककार केही सीमित मान्छेको हितमा मात्रै काम गरे । जसका कारण मानिसहरुमा निराशाको मात्रा बढेर गयो । राजावादीहरुलाई फैलने र मौलाउने वातावरण समेत ओलीले नै तयार पारे । गणतन्त्र विरुद्ध निराशा फैलाउने काममा उनी लागिपरे । जनताको पक्षमा कुनै पनि काम नगरेका कारण नागरिक आहात भए ।

अपेक्षा र चाहनामाथि तातो पानी खन्याएर ओलीले आफूलाई आफै राज्य र आफू नै कानून भएको घमण्ड गरे । आफू नै सर्वेसर्वा भएको नाटक गरे । विधि कुल्चिए, पद्धति कुल्चिए । जनताका हित र देशकको आवश्यकतालाई तिलाञ्जली दिए । मानिसहरुमा निराशा बढ्नुको पछाडि पनि सोही कारणले काम गरेको छ  । बालुवाटारको चार दिवारभित्र बसेर ओलीले आफ्ना सहयोगीहरुलाई पार्टी नेतृत्व विरुद्ध मोर्चाबन्दी गर्न भड्काए । गलत गर्नेलाई कारवाही होइन बरु पुरस्कृत गर्दै गए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार भनिएका सूर्य थापाहरुले पार्टी नेतृत्व विरुद्ध पर्धेनी शैलीमा गरेको गाली गलौज त्यसैको परिणती हो । विष्णु रिमालहरुले पार्टी अध्यक्ष विरुद्ध गरेको विषवमन त्यसैको उपज हो । पार्टी भनेको विपरितहरुको एकत्व हो । पार्टी भनेको फरक फरक सोच र चिन्तनको साझा प्रतिबिम्व हो ।

त्यसैलाई नै ओलीले खण्डित गर्न खोजको तथ्यहरुले पुष्टि गरेको छ ।  राम्रो हुँदा मैले गरेको, मेरो नेतृत्वले गरेको भन्दै घमण्ड गर्ने, कुनै पनि गलत काम भयो, आलोचना भयो भने सरकारलाई काम गर्न दिइएन, पार्टी लागेन र पार्टीले कुनै पनि सहयोग गरेर भन्दै रोइलो गर्ने र शीर्ष नेतृत्वविरुद्ध तल्लोस्तरमा उत्रेर गाली गर्ने प्रवृत्ति ओली र उनको गुटमा हावी छ ।  सरकारप्रति निराशा पैदा भयो, जनताको पक्षमा काम गर्नुपर्छ भन्ने चेत ओली र उनको गुटमा विल्कुलै देखिँदैन । उखान टुक्का सुनाएर, नेतृत्वलाई गाली गरेकै भरमा छुट पाइन्छ भन्ने मानसिकतामा ओली देखिएका छन् । गणतन्त्र प्राप्तिको आन्दोलन चलिरहँदा बालकोटको हवेलीमा बसेर भुटेको काजु खाँदै बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओली र उनको गुट यतिबेला जनताले लडेर स्थापित गरेको व्यवस्थालाई नै चुनौती दिने गरी भएको गैरकानूनी र गैरसंवैधानिक हर्कतलाई सहज बनाइदिन लागेको छ ।

राजावादीहरुले गरिरहेको व्यवस्था विरोधी प्रदर्शन त्यसैको उपज हो । ओलीको कार्यशैलीका कारण व्यवस्था विरुद्ध नै नकारात्मक भाव सिर्जना भएको छ । सर्वहारा वर्गको अग्रदस्ता भनिएको वामपन्थी सरकारले आफ्नो चरित्र देखाउन सकेको छैन । राज्यसंयन्त्रमा अराजकता मौलाएको छ । जनताको जीवनस्तरमा कुनै परिवर्तन आएको छैन् । रोग, भोक र शोकले नागरिक ग्रस्त छन् । कोरोनाका कारण सर्वस्व लुटिएका मानिसलाई राहत दिनेतर्फ कुनै सिन्को भाँचिएको छैन् । बरु, राजश्वको लक्ष्य पूरा गर्ने नाममा करको बोझ थोपरिएको छ । अवैध धन्दा मौलाएको छ । कालोधनको संरक्षण भएको छ । अपराध कर्ममा लागेकालाई थप प्रोत्साहित गरिएको छ । 

राजनीतिक विश्लेषकहरु भन्छन्–विचारमा फरक पर्ने बित्तिकै शत्रु करार गर्ने, गद्धारको बिल्ला भिराइदिने र हुने नहुने सबै आरोप लगाएर राजनीतिक भविस्य नै सिध्याइदिने ध्याउन्नमा ओली र उनको सचिवालयमा रहेका सबै लागेका छन् ।  बालुवाटामार हरेक दिनजसो हुने अराजनीतिक छलफल त्यसैको परिणाम हो । पार्टी भित्र विचारधारात्मक संघर्ष हुन्छ । अन्तरद्धन्द्ध पनि हुन्छ । वैमस्यता पनि बढ्छ, त्यसलाई समाधान गर्ने जिम्मेवारी लिएको मान्छे नै बिग्रेको परिस्थिति सपार्न लाग्ने भन्दा पनि थप भड्काउन लागिपरेको छ । गए झटारो, आए आँपको शैलीमा ओली जसरी भएपनि आफू पदमा रहरिहने, पार्टी, देश र जनता भाडमा गएपनि केही फरक पर्दैन भन्ने शैलीमा प्रस्तुत भएका छन् । कोही कसैलाई गन्दै नगन्ने, लोकतन्त्रको सारभूत मूल्य र मान्यताको रुपमा रहेको बहुलको निर्णय नै नमान्ने शैली उनले प्रदर्शन गरेका छन् ।

पटक पटक पार्टीले सर्वसहमतिका आधारमा गरेको कुनै पनि निर्णयलाई ओलीले कार्यान्वयन गरेका छैनन् । राजनीतिक कोणबाट हेर्दा, ओलीको त्यो शैली चरम अवसरवाद र गुटपरस्त प्रवृत्ति हो । उनले आफू कानून मान्दिनँ, पार्टी मान्दिनँ, विधि र पद्धतिलाई  स्वीकार गर्दिनँ भनेर जुन हर्कत देखाइरहेका छन्, त्यो उनकैका लागि समेत घातक बनिरहेको छ ।  पार्टी र आन्दोलन सकिँदा त्यसले पार्ने प्रभाव आफैमा सबैभन्दा बढी खतरनाक र पश्चगमन हुन जान्छ । आज नेकपाभित्रको विवाद अग्रगमन र पश्चगमनको लडाईं हो । नेकपाभित्रको संघर्ष क्रान्ति र प्रतिक्रान्तिको लडाईं हो । यो विचार, सिद्धान्त र अग्रगमन चाहने र नचाहनेबीचको संघर्ष हो । 

राजनीतिक रुपमा हेर्दा, प्रचण्ड– माधव नेपालहरुले क्रान्तिको झण्डा बोकेका छन् भने ओली र उनको गुटले दक्षिणपन्थी अवसरवादको सेवा गरेका छन् । यही दुई प्रवृत्तिबीचको संघर्ष हो, यतिबेला देखा परेको विवाद । गणतन्त्रको नाममा, कम्युनिस्टको नाममा, प्रगतिशीलको नाममा ओलीले राजावादीलाई फस्टाउने, मौलाउने वातावरण तयार पारिदिएका छन् । सामन्तवादको नाइकेलाई राम्रो, गतिलो एवम् मलिलो वातावरण बनाइदिएका छन् । पछिल्ला दिनमा देशभर भएका राजावादीको प्रदर्शन त्यसैको उपज हो ।  उनीहरुले व्यवस्थाविरुद्ध गरेको प्रदर्शनलाई निरुत्साहित गर्नुको साटो झनै फैलने, मौलाउने अवसर उनै ओली र उनको सचिवालयको व्यवहार, चिन्तन र कार्यशैलीले प्रदान गरेको छ । आज देशका तीन तहको सरकारमा नेकपाको झण्डै दुई तिहाई मत सहितको उपस्थिति छ ।

तर राज्यका तीन वटै तहकाबीचमा कुनै समन्वय छैन । जनताको पक्षमा कुनै पनि काम भएको छैन । जनताले सरकार भए वा नभएको महसुस समेत गर्न पाएका छैनन् । जनताले परिवर्तनको मिठो फल चाख्न पाएका छैनन्, बरु उडन्ते गफ र उखान टुक्काको वर्षामात्रै भइरहेको विषम अवस्थालाई स्वीकार गर्न बाध्य छन् । किसानले खेती गर्ने मौसममा मल पाएका छैनन् । कोरोना पीडितले सरकारको तर्फबाट सामान्य भन्दा सामान्य राहत समेत पाएका छैनन् । यही जिम्मेवारीवोधको अभावमा आज व्यवस्था विरुद्ध नै धावा बोल्ने कुचेष्टा भएको छ ।

तर, तथ्यलाई भूलेर ओली र उनको गुटले देखाएको राजनीतिक विश्लेषकहरुको भाषामा अराजनीतिक नांगो नाच आफैमा अक्षम्य अपराध हो । आज ओली र उनको गुट सच्चिने कि सकिने भन्ने दोधासमा रहेको छ । यस्तो अवस्थामा नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर ओलीले नै त्याग गर्नुपर्ने अवस्था आएको छ । यदि त्यसो गर्न उनी तयार नभएको अवस्थामा बहुमतको आधारमा देश, जनता र पार्टीलाई निकास दिने गरी अगाडि बढ्न नेकपाले ढिलाई गर्न हुँदैन । जे जति दिन ढिलाई हुन्छ नी, त्यति नै दिन नेपाली जनताले दुःख पाउने छन् । अराजनीतिक चरित्र देखाएका ओलीलाई विदाई गर्नु नै आजको प्रमुख कार्यभार हो ।

किनकी, पार्टी, देश र जनताविरुद्धको गद्धारीमा ओली र उनको गुटको हात रहेका कारण उनीहरुलाई कारवाहीको दायरामा ल्याउन ढिलाई गरिनु हुँदैन । राजनीतिक विश्लेषकहरु भन्छन् – सधै देशलाई अनिर्णयको बन्दी बनाएर राख्न हुँदैन र मिल्दैन पनि ।   आफै सच्चिएर, हालसम्म भएका गल्ती कमजोरी सच्याएर, आगामी दिनमा विगतको गल्ती नदोहो¥याउने  र आत्मआलोचना गरेको खण्डमा एक पटक ओलीलाई सम्पूर्ण कारवाही हुनबाट जोगाउन सकिएला । तर, कुनै पनि सुधार गर्न तयार नभएको खण्डमा पार्टीले बहुमतका आधारमा निर्णय गरेर देश र जनताको हितलाई संरक्षण गर्नुपर्ने हुन्छ । अन्यथा भीरबाट लडन लागेको गोरुलाई राम राम मात्रै भन्न सकिन्छ, काँध थाप्न सकिदैन । आगे, ओली र उनको गुटको मर्जी ।

किनकी, अब पनि पार्टी नेतृत्वले समग्रतामा तत्काल आम जनताको हितका खातिर निर्णय गर्नुपर्छ । अबपनि बैठकको नाममा बैठक, सहमतिको नाममा सहमति गरेर समय बर्बाद पार्नु हुँदैन । तत्काल निर्णय गर्नुपर्छ । अन्यथा, त्यत्तिकै छाडिदिएको अवस्थामा ओली र उनको गुट अझै हौसिने र विधि नमानेपनि हुन्छ, पार्टी पद्दती र निर्णय नमाने पनि हुन्छ भन्ने ठाँउमा पुगेर अराजकता झनै मौलाएर जानेछ । 

ओली र उनको गुटले स्थायी कमिटि र महाविधेशनपछिको सबैभन्दा सर्वोच्च निकायको रुपमा रहेको केन्द्रीय कमिटबाट हुने निर्णयलाई स्वीकार गर्नुपर्दछ ।  आफू मात्रै सबै थोक हो भन्ने बालहठबाट बाहिर आउनुपर्छ । अन्यथा, कारवाहीको भागिदार बन्न तयार हुनुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।  
 

प्रतिक्रिया दिनुहोस