चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन

पत्रपत्रिकाबाट

विहीबार, २५ मंसिर २०७७, ०७ : २९
चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई परिपत्र गरेको छ ।

ब्यारेक र कार्यालय तथा चन्द समूहका गतिविधिबारे सूचना र सुराकी दिनेको सुरक्षामा पनि सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

चन्द समूहले मंगलबार मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको सुराकी आरोपमा घाँटी रेटी हत्या गरेपछि प्रहरी थप सतर्क बनेको हो । यसअघिका हिंसात्मक गतिविधिको चन्द समूहले सजिलै जिम्मा लिने गरेको थिएन तर मंगलबार मिक्लाजुङमा प्रधानाध्यापक श्रेष्ठलाई सुराकी गरेको आरोपमा हत्या गरिएको स्वीकार गरेपछि आतंक फैलिन सक्नेप्रति प्रहरी संवेदनशील बनेको हो ।

मिक्लाजुङको जस्तै घटना अन्य स्थानमा पनि दोहोरिन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले यसप्रति सचेत र चनाखो रहन सातवटै प्रदेश, महानगरीय प्रहरी कार्यालय र देशभरका संघीय इकाइ कार्यालयको ध्यानाकर्षण गराएको छ । कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस