मनकामना मन्दिर र केवुलकार मंसिर २८ देखि पुनः खुल्ने

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १९ : १९
मनकामना मन्दिर र केवुलकार मंसिर २८ देखि पुनः खुल्ने

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमको कारण बन्द रहेको गोरखाको मनकामना मन्दिर  र  मनकामना केवुलकार मंसिर २८ देखि पुनः खुल्ने छ । मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले सुरक्षाका उपाय अपनाएर पूजा सुरु गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवुलकार बन्द गरिएको थियो । संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । हाललाई भक्तहरूका लागि मन्दिर खोलिए पनि ठूला पूजा गर्न  भने पाउने छैनन् ।

मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संभारको काम सुरु भएको मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए । स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर' निर्माण गरिएको र केवुलकारको मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था गरिने कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । उनका अनुसार केवुलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ । 

प्रतिक्रिया दिनुहोस