मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी रत्ननगर घोषणा

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १८ : १७
मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी रत्ननगर घोषणा

चितवन । रत्ननगर नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । दुवै कमिटीले आज शनिबार रत्ननगरमा आयोजना गरेको प्रथम विस्तारित बैठकमा १०१ सदस्यीय फाउण्डेशन र ५१ सदस्यीय एकेडेमी घोषणा गरिएको हो ।

फाउण्डेशन नगर समितिको अध्यक्षमा चन्द्रकान्त न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सीताराम पोखरेल, उपाध्यक्षहरुमा राजेन्द्र न्यौपाने, सूर्य तामाङ, रश्मि बर्तौला, कृष्ण श्रेष्ठ र रामप्रसाद लम्साल रहेका छन् । यसैगरी सचिवमा इन्द्र भण्डारी, सहसचिवमा लेखनाथ आचार्य र कोषाध्यक्षमा गोकुल पराजुली चयन भएका छन् ।

एकेडेमीको अध्यक्षमा अजित चौरेल, उपाध्यक्षमा ध्रुव बर्तौला, लक्ष्मण परियार, केदार न्यौपाने र विष्णु सापकोटा रहेका छन् । समितिका सचिवमा प्रसंग कायस्थ, सहसचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा रोशनी लिम्बु चयन भएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य कृष्णकुमार राईले फाउण्डेशन कुनै दल हो जस्तो गरी हेरिनु नहुने बताए । उनले भने “फाउण्डेशन निर्वाचन लड्न जाने दल होइन ।” जनताले स्वीकार नगरेको विचार कुनै पनि पार्टीको सिद्धान्त हुन नसक्ने भन्दै उनले भने  “आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न जनताको बहुदलीय जनवाद (जबज) को बाटोमा नै अघि बढ्नु पर्छ ।” आफूलाई समाजवादी नेता हुँ भन्नेहरुले समेत भ्रम पालेको बताउँदै राईले भने  “सबै विचारलाई परास्त गर्ने विचार जबजब नै हो ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य काशीनाथ अधिकारीले जननेता मदन भण्डारीको विचारले नै नेपालमा परिवर्तन ल्याएको बताए । उनले भने  “जबजले विश्वमा कम्प्युनिटहरु संकटमा रहेको बेला नेपाली कम्युनिष्टहरुलाई लोकप्रिय बनायो ।” कम्युनिष्ट आन्दोलन उग्र वामपन्थी र दक्षिणपन्थी भड्काउमा रहेको बेला आएको जबजले नेपालको कम्युनिष्ट आन्दोललाई सही दिसा दिएको उनको भनाई थियो ।


कार्यक्रममा बागमती प्रदेश सभासद् विजय सुवेदीले जबजकै बाटोमा हिँड्दा पार्टी अहिलेको अवस्थासम्म आईपुगेको बताउँदै भने “एउटा पार्टीका दुई वटा सिद्धान्त हुनै सक्दैन ।”

कार्यक्रममा फाउण्डेशन नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई फाउण्डेशन जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईले सपथ गराए । यस्तै एकेडेमी नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई फाउण्डेशनका जिल्ला उपाध्यक्ष एवं नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष राम न्यौपानेले सपथ गराए ।  

फाउण्डेशन नगर समिति अध्यक्ष चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशन क्षेत्र नं। १ का सल्लाहकार यादव पाठकले स्वागत गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस