‘नेकपा कुनै हालतमा फुट्दैन, एउटै राजनीतिक प्रतिवेदन ल्याउने सहमति बन्छ’

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १७ : ०६
‘नेकपा कुनै हालतमा फुट्दैन, एउटै राजनीतिक प्रतिवेदन ल्याउने सहमति बन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक प्रतिवेदन समायोजन गरी एउटै राजनीतिक प्रतिवेदन ल्याउने सहमति बनेको खुलासा गरेका छन् । उनले पार्टी कुनै हालतमा नफुट्दै भन्दैैै सहमतिको ढोका खुलेको बताए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै पार्टीमा पछिल्लो समय उठेका कतिपय विषयहरुको टुंगो स्थायी कमिटी बैठक बसी कार्यदल बनाएर लगाउने सहमति समेत बनेको बताए । 

‘नेकपा कुनै हालतमा फुट्दैन,’ पूर्वमन्त्री समेत रहेका नेकपा नेता तामाङले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन समायोजन गरी एउटै प्रतिवेदन बनाउन स्थायी कमिटीमार्फत् कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।’ एक व्यक्ति एक पदको विषय पनि स्थायी कमिटी बैठकले टुंगो लगाउने तामाङले बताए । 

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा तामाङले अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदनको आरोप प्रत्यारोपलाई फिर्ता लिएर सकारात्मक र समिक्षात्मक विषय समावेश गरी साझा प्रतिवेदन बनाइने सहमति भएको खुलासा गरे । ओली र प्रचण्डबीचको एक्ला एक्लै वार्ताले सहमतिको बाटो खुलाएको समेत उनको भनाई थियो । 

पार्टीभित्र बहस र विवाद हुनुलाई सामान्य भन्दै समस्याको समाधान गरिने बताए । उनले भने, ‘छलफलबाट सहमति निकालिन्छ, नेकपा फुट्््छ भन्ने भ्रम नपाले हुन्छ ।’ देश महामारीसँग जुधिरहेकाले सबै राजनीति दल एकजुट भएर समाधानमा जानुपर्ने बताए । देशमा भ्रष्टाचार भएको भए छानविन गर्न विपक्षी दलले पनि सहजीकरण गर्नुपर्ने बताए । 

पूर्व राजालाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिए । तामाङले भने, ‘पूर्व राजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ, प्रतिस्पर्धा गर्न तयार छौं ।’ कसैले सडकमा आएर राजा आऊ भन्दैमा नआउने बताए । उनले यो संविधान बाहेक देशमा अर्को संविधान हुन नसक्ने बताए । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै असफल प्रधानमन्त्री भएकाले पदमा बस्ने नैतिक आधार समाप्त भएको बताएका छन् । उनले ओलीमाथि राजनीतिक प्रणालीलाई नै खतरामा पारेको आरोप लगाए । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै राजनीतिक दल र राजनीतिक प्रणालीप्रति नै वितृष्णा जगाउने भुमिका खेलेको टिप्पणी गरे । पौडेलले वाइडबडी र प्रिन्टिङ प्रेस खरिद जस्ता अरबौं घोटाला भएका भ्रष्टाचारको खुलासा भइसकेको बताए । 

‘ओलीजी प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न,’ पौडेलले भने, ‘सरकार असफल भइसकेको छ, शाही शासन र ओली शासनमा अन्तर भएन ।’ नेकपाभित्रको पछिल्लो विवादलाई कुर्सीको लडाईं भने । बैठक बस्ने र स्थगित गर्नेबाहेक नेकपाले केही गर्न नसकेको उनको टिप्पणी थियो । पौडेलले भने, ‘कुन दलाललाई कुन कुर्सीमा बसाउने र आफू कुन कुर्सीमा बस्ने भन्नेमा ओलीजी र प्रचण्डजीबीच झगडा चलिरहेको छ ।’ 

प्रधानमन्त्री ओली विगतमा नै गणतन्त्र विरोधी भएको भन्दै अहिले राजावादीहरुको सक्रियताप्रति आशंका गर्नुपर्ने बेला आएको बताए । ओलीले गणतन्त्र र संघीयतालाई सखाप पार्ने खेल खेलेको आरोप लगाए । उनले भने, ‘हामी गणतन्त्रका लागि सडक संघर्ष गरिरहँदा ओलीजी बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै गणतन्त्रको नाराको उपहास गर्दै हुनुहुन्थ्यो, त्यसैले उहाँ गणतन्त्र नै सखाप पार्न लाग्नुभएको छ । अहिले राजा ल्याउनुपर्छ भनी सडकमा आवाज उठ्नुको जिम्मेवार ओली नै भएको आरोप लगाए । 

राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल विकल्प नखोजिए राजनीतिक प्रणाली नै धरापमा पर्ने बताएका छन् । प्रधानमन्त्री ओली योजनावद्ध तरिकाले गणतन्त्र र संघीयता सखाप पार्न लागेको आरोप लगाए । उनले भने, ‘ओलीजी संघीयता र गणतन्त्र सखाप पार्ने खेलमा हुनुहुन्छ, उहाँको विकल्प नखोजिए देशमा दुर्घटना हुन्छ ।’ 

प्रधानमन्त्री ओलीका कारण राजनीतिक दलप्रति वितृष्णा बढेको बताए । ओली सरकारलाई असक्षम भन्दै त्यसको दोष सिंगो राजनीतिक सिस्टमलाई दिन थालिएकोमा सचेत हुनुपर्ने बताए । उनले भने, ‘एउटा व्यक्तिको गल्तीको दोष सिंगो सिस्टम हुनसक्दैन । त्यसैले गल्ती गर्नेको विकल्प खोजिहाल्नुपर्छ ।’ उनले प्रधानन्त्री ओलीले तत्काल सत्ता छाड्नुपर्ने माग गरे । 

पछिल्लो समय राजावादीको प्रदर्शनमा सत्तापक्षकै संलग्नता देखिएको टिप्पणी गरे । नेकपाको झगडाले गणतन्त्र र संघीयताका विरोधीहरुले टाउको उठाउन थालेको बताए । अहिलेको राजनीतिक अवस्थाको जिम्मेवारी ओलीले लिनुपर्ने उनको भनाई थियो । 

राजपा छिट्टैैै सरकारविरुद्ध आन्दोलनमा जान लागेको झाले बताए । यसबारे नेपाली काँग्रेससँग पनि छलफल बढेको र मिलेर जान सकिने बताए । उनले भने, ‘अब हामी गणतन्त्र र संघीयताको रक्षाका लागि सरकारविरुद्ध आन्दोलनमा जान्छौं ।’ देशमा भ्रष्टाचार जताततै मौलाएको भन्दै तत्काल सरकारको विकल्प खोजिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस