बालुवाटारको आडमा उद्योग वाणिज्य महासंघमा चण्डीको ज्यादती

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, ०९ : ४१
बालुवाटारको आडमा उद्योग वाणिज्य महासंघमा चण्डीको ज्यादती

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आवरणमा बैंकको साँवा र व्याज समेत नतिरी बसेका चण्डीराज ढकाललाई यस पटक उनकै शब्दमा नराम्ररी सुताइदिएको छ । चण्डीराज ढकालले राष्ट्रिय वाणिज्य बैंकको झण्डै २ अर्ब बराबरको ऋण तिरेका छैनन् । केही समस्या परे मेरा गाँउले दाजु प्रधानमन्त्री छन् भन्दै बालुवाटार पुग्ने र अरु व्यापारीलाई धम्क्याउने काममा उनी सक्रिय छन् ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले त उनलाई ऋण नतिरे पनि केही फरक पर्दैन भन्ने शैलीमा अभयदान नै दिएका थिए । तपाईं र मेरो एउटै जिल्ला, एकै ठाँउमा घर भएको मान्छे भन्दै युवराजले चण्डीलाई सधै टाउकामा टेकाएका थिए । उनले त्यतिमात्रै होइन, ऋण तिर्न ताकेता गरेको भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई समेत मन्त्रीको च्याम्बरमा बोलाएर राम्रै थर्काएका थिए । व्यवसायीलाई छिटो भन्दा छिटो ऋण तिर भनेर आग्रह गर्नुको साटो ऋण उठाउन खोज्ने बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नै बोलाएर मन्त्रीले थर्काएको नेपालको इतिहासमा नै पहिलो होला भन्दै श्रेष्ठले बेलाबेलामा आफ्ना निकटस्थहरुसँग गुनासो गर्ने गरेका छन् । 

चण्डी ढकाललाई ऋण तिर्नु पर्दैन भन्दै बोकेर हिँड्नेमा प्रधानमन्त्री खड्ग ओली, युवराज खतिवडा मात्रै नभइ, प्रधानमन्त्रीका स्वकीय सचिव रहेका इन्द्र भण्डारी समेत रहेका छन् । चण्डीले सोही शक्तिको आडमा बैंकका कर्मचारीमाथि मात्रै नभई अन्य व्यापारी तथा व्यवसायीलाई समेत थर्काउने गर्दै आएका थिए । यस पटक उद्योग वाणिज्य महासंघको निर्वाचनमा समेत चण्डीकै कारण वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमले महत्वपूर्ण पदहरुमा निर्वाचन हार्नुप¥यो । चण्डी जस्ता भ्रष्टले नेतृत्व गरेका कारण चन्द्र जस्ता सादगीले आफ्नो टिममा समेटेका सबैलाई जिताउन सकेनन् । 

जानकारहरुका अनुसार लामो समयदेखि महासंघको राजनीतिका खेलाडी चण्डीराजको पेवा जस्तै रहेको विशिष्ट सदस्यको पद यो पटक खुस्किएको छ, महासंघको विशिष्ट सदस्यको पद प्राप्त गर्ने भाग्यशाली व्यक्ति बन्ने अवसर पाएका छन् पशुपति मुरारकाले । विशेषगरी पूर्व अध्यक्षलाई मानका खातिर मान भने जस्तै गरी विशिष्ठ सदस्यको रुपमा सम्मान दिने चलन गरेको छ । सोही मानका खातिर मान पाएका चण्डीराजले महासंघलाई नै आफ्नो बपौती जस्तै ठानेर व्यवहार गरेको जानकारहरु बताउँछन् ।   नेपालको उद्योग वाणिज्य क्षेत्रका विशेष योग्यता हासिल गरेका व्यक्तिलाई राख्ने, उसको योग्यता तथा विज्ञतालाई भरपूर प्रयोग गर्ने ध्येयका साथ विशिष्ठ सदस्यको व्यवस्था गरिएको हो । तर, उक्त पदलाई चण्डीराजले सधैं उपभोग गर्दै आएका थिए ।

यसपटक अध्यक्षमा निर्वाचित भएका शेखर गोल्छाले आफ्नो गुटको हितका खातिर मुरारकालाई सो पद दिएका छन् । यसले चण्डीलाई जस्तै मुरारकालाई पनि महासंघका गुट विस्तार गर्न, नचाहिँदो काम गर्न प्रेरित गरेको छ । किनकी मुरारका पनि चण्डी जस्तै नैतिकता नभएका व्यापारीको रुपमा परिचित छन् । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको विद्युत्को महसुल तिर्दिन भन्दै उनले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध व्यापारीलाई अदालत जान प्रेरित गरेका थिए ।

महासंघको आडमा राज्यको एउटा निकायलाई तिर्नुपर्ने महसुल नतिरेपनि हुन्छ, किन तिर्नुप¥यो भन्ने मानसिकता राखेर हर्कत गर्ने, आफू पनि नतिर्ने तथा अरुलाई नतिर भन्ने व्यापारी हुन् ।  जानकारहरुका अनुसार मुरारकाले सिमेन्ट उद्योगलगायतमा गरेको लगानीको स्रोतका बारेमा समेत संशय पैदा भएको छ । उनले प्राधिकरण विरुद्ध हुने नहुने कुरा गरेर अदालत जान उक्साएका थिए ।

भैरहवाको विमानस्थल नजिकै अन्तर्राष्ट्रिय हवाई संगठनको मूल्य र मान्यता विपरित अर्घाखाँची सिमेन्टले बनाएको अग्लो टावरका कारण समेत उनको ज्यादती के कति मात्रामा रहेको छ भन्ने प्रष्ट देखिन्छ । अर्थ क्षेत्रका विज्ञहरुलाई दिने भन्ने अवधारणाका साथ सिर्जना गरिएको विशिष्ट सदस्यको पद पूर्वअध्यक्षहरुको राजनीति गर्ने थलो बनेको छ । आफूलाई सहयोग गर्नेलाई विशिष्ट सदस्य बनाएर महासंघको राजनीतिमा पूर्वअध्यक्षलाई स्थान दिने यसअघिको गलत निरन्तरताको क्रमभंगता गर्न गोल्छाले नसकेको बताइन्छ । विगतमा महासंघका वर्षदिनभरी नै चुनाव लाग्ने र सधै गुटबन्दी मात्रै गर्ने पात्रको रुपमा लिइन्थ्यो चण्डी ढकाललाई ।

जानकारहरुका अनुसार विशिष्ट सदस्य प्राप्त गरेर महसंघमा सधै सक्रिय रहिरहनका पूर्वअध्यक्ष ढकालले वर्षैभरी राजनीति गर्ने गरेका थिए ।  आफ्नो स्वार्थ पूरा गर्न ढकालले धेरै पात्रहरुको प्रयोग गरे । कहिले एउटालाई बोक्थे त कहिले अर्कालाई । उनको चरित्र नै यस्तै रहेको छ । महासंघमा लामो समय चण्डीको रजगज चल्यो । उनले समर्थन गरेका उम्मेदवारहरुले निर्वाचन पनि जिताएको र जित्न समेत सफल भएपनि यसपटक भने अवस्था त्यस्तो देखिएन । महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले चुनाव जिते । त्यो उनकै कारण नै हो । यद्यपी चन्द्रको चुनावी कमाण्डर नै चण्डी थिए । 

आफूलाई चण्डीको समर्थन छ, जिल्ला नगरकै भोटले चुनाव जितिहाल्छु’ भनेर ढुक्कसँग बसेका भए चन्द्रले चुनाव हार्ने रहेछन् भन्ने तथ्य मतपरिणामले देखाइदिएको छ । गोल्छा मुरारका गुटमा भएका भए चन्द्र सर्वसम्मत वरिष्ठ उपाध्यक्ष हुन्थे भन्ने अनुमान पनि रहेको छ । अर्को कोही प्रतिस्पर्धी भएको भए अहिलेको भन्दा धेरै मतान्तरले चन्द्र चुनाव जित्ने अनुमान पनि रहेको थियो । चण्डीराजको शक्ति छ भन्ने भ्रमले चन्द्रलाई यो पटक झन्डै चिप्ल्याएको महासंघको राजनीति बुझेकाहरु नै बताउँछन् । महत्वपूर्ण त के छ भने सदाबहार विशिष्ट सदस्य भएर महासंघमा राज गर्ने चण्डीराजको शक्ति खोसिएको बताइन्छ । बालुवाटारको शक्ति देखाएको भरमा मात्रै अब चुनावी राजनीति गर्न सकिँदैन भन्ने प्रस्ट भएको छ ।  बालुवाटारको आडमा व्यापारी व्यवसायीलाई तर्साउने चण्डीराज अब विष झारिएको सर्प वा दाह्रा नंग्रा निकालिएका बाघ जस्तो भएका छन् ।

ओलीको आडमा ज्यादती गर्ने दिन उनका लागि सकिएको जानकारहरु बताउँछन् । किनकी शक्तिको आडमा रहेका चण्डीराजलाई अब चन्द्र ढकाल  समूहले चाहेर पनि यो कार्यकाल शक्तिशाली बनाउन नसक्ने भएका छन् ।  अवस्था यस्तो  आइदियो वरियताक्रममा पशुपति चन्द्रभन्दा माथि र शक्तिका हिसाबले चन्द्र पशुपतिभन्दा बलियो पदमा रहेर एउटै कार्यसमितिको बैठकमा अबको २ वर्ष ४ महिना सँगै बिताउनुपर्ने भएको छ । यो आफैमा पनि इमान्दार र गैरजिम्मेवार व्यवसायीको एकै स्थानको उठबसका रुपमा समेत लिइएको छ । 

घटनाक्रमले अब गोल्छा र मुरारकाले चण्डीसँग जुध्ने आँट गरेको जस्तो देखिन्छ । उनीहरुले  चण्डीलाई हराउन सफल भएको भन्दै हौसिएका छन् । सोही हौस्याइका कारण पनि विशिष्ठ सदस्यको पदमा बस्दै आएका चण्डीको स्थानमा पनि अब मुरारका बस्ने भएका छन् । जानकारहरुका अनुसार गोल्छा, मुरारका गुटले महासंघको निर्वाचनलाई प्रभावित पार्नका लागि करोडौं पैसा खर्च गरेको बताइन्छ । उनीहरुले आफ्नो स्वार्थका लागि जे जसरी हुन्छ चुनाव जित्ने गरी काम गरेको बताइन्छ । पैसा दिएर हुन्छ  कि नेताको फोन लगाएर हुन्छ कि जे जसरी हुन्छ, उनीहरुले भए नभएका सबै हर्कत र हत्कन्डा प्रयोग गरेको बताइन्छ । मुरारका पनि के कम उनले पनि उद्योग नै नभएका किशोर प्रधानलाई आवश्यक भन्दा बढी रकम खर्च गरेको बताइन्छ ।

जे जसरी भएपनि निर्वाचनमा जित हत्याउने ध्येयका साथ साम, दाम, दण्ड भेदको नीतिमा यसपटक गोल्छा र मुरारका समूह परिचालित भएका थिए । कानून हातमा लिने, राज्यलाई कर नतिर्ने, भ्याट बिलमा छली गर्ने तथा सबै गैरकानूनी काम गर्न उद्यत रहेको सो समूहले यसपटक महासंघलाई कब्जा गरेका छन् । उनीहरुको यो जीत तत्कालका लागि जीत जस्तो भएपनि इमान्दार  व्यवसायीका लागि भने यो अर्को एउटा गलत अभ्यासको रुपमा स्थापित भएको छ । यसलाई तह लगाउनका लागि अब उनीहरुले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस