नेकपाको विवाद तल्लो तहसम्म यसरी झाँगिदैछ

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, १५ : २८
नेकपाको विवाद तल्लो तहसम्म यसरी झाँगिदैछ

काठमाडौं । सत्तारूढ नेकपामा शीर्ष नेतृत्वमा भएको विवाद अब तल्लो तहसम्म झाँगिदै गइरहेको छ । शीर्ष नेताहरुबीच विवाद बढिरहँदा उनीहरु निकटका विद्यार्थी संगठनहरुले गुटगत भेला राख्न थालेका छन् । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा–विद्यार्थी भेला काठमाडौँमा केहीबेरअघि सुरु भएको छ । काठमाडौंको थापाथली क्याम्पसमा सुरु भेलामा माधवकुमार नेपाल निकट मानिएकी वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, प्रचण्ड निकट रहेकी स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत नेताहरुको सहभागिता छ ।

पार्टीभित्र विवाद बढ्दै जाँदा दुवै समूहले भेला, बैठकमार्फत् आफ्ना कुरा राख्न थालेका छन् । गुटगत भेला हुन थालेपछि पार्टीभित्र थप विवाद चर्किने खतरा रहेको छ । अन्ततः पार्टी नै फुट्ने संघारमा जाने हो कि भन्ने डर आम कार्यकर्तामा रहेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुले प्रदेश १ मा जुममार्फत छलफल गरेका थिए । त्यसलगत्तै प्रचण्ड माधव पक्षले पनि प्रदेश १ मा आफू निकटका नेताहरुसँग छलफल गरेका थिए ।

केही दिनअघि माधवकुमार नेपाल निकट मानिएका नेता सुरेन्द्र पाण्डेको कार्यक्रम नै नेकपाका कार्यकर्ताबाटै बिथोलिएको थियो । नेता पाण्डेले मदन भण्डारी फाउन्डेसनका क्रियाकलाप बन्द गर्नुपर्छ भनेपछि कार्यक्रममा नै केपी ओली जिन्दावाद भन्ने नारा लगाइएको थियो । 

नेता पान्डेले चितवनमा भएको कार्यक्रममा सहभागी भएपछि पोखरामा गएर गुटगत भेला राखेर आफ्नो धारणा प्रस्तुत गरेका थिए । यसरी सत्तारूढ नेकपाको विवाद तल्लो तहसम्म झाँगिदै गइरहेको छ, यसले आम कार्यकर्तामा निराशा छाएको छ । 

प्रतिक्रिया दिनुहोस