नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यस जिल्लामा ९२ हजार ३९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो दुई हजार ६१२ मेट्रिक टनले कमी हो । कृषि ज्ञान केन्द्र तनहुँका समयमै धान रोपिए पनि उत्पादनमा कमी आएको हो ।
यहाँ गत वर्षभन्दा यस वर्ष बढी क्षेत्रफलमा धान रोपाइँ भएको थियो । ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मोहन प्रकाश श्रेष्ठका अनुसार यस वर्ष धान पसाउने बेला रासायनिक मलको अभाव तथा धानमा विभिन्न रोग लागेकाले उत्पादनमा कमी आएको हो ।
गत वर्ष २० हजार ३२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष २१ हजार ९५१ हेक्टरमा धान रापाइँ भएको थियो । गत वर्ष प्रतिहेक्टर ४ दशमलव ५५ मेट्रिक टन धान उत्पादन भएको नवलपुरमा प्रतिहेक्टर ४ दशमलव ९ मेट्रिक टन मात्रै धान उत्पादन भएको श्रेष्ठले जानकारी दिए ।
यस वर्ष किसानले धान पसाउने समयमा रासायनिक मल पाउन सकेका थिएनन् भने पसाएको धानमासमेत राते, गबारो, पोकेलगायतका विभिन्न रोग लागेको थियो । धान स्याहार्ने बेलामा धानमा पोगटा मात्रै भएको किसानको गुनासो छ । यस वर्ष धान उत्पादनमा कमी आएको किसानको भनाइ छ ।
तल्लो क्षेत्रमा उन्नत जातका सावा, सावित्री, हाईब्रिड गोरखनाथ जातको धानखेती हुँदै आएको छ । पहाडी क्षेत्रमा पनि उन्नत जातका सावित्री, सावा र स्थानीय जातको झिनुवा, अनदीलगायत धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र सम्पर्क इकाई कार्यालय कावासोतीका प्रमुख मीरा चौधरीले बताए।
जिल्लाका किसानले लगाएको धान समर्थन मूल्यमा किनबेचका लागि प्रक्रियामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वका प्रमुख विष्णुप्रसाद शर्माले जानकारी दिए । सहकारीलाई खरिद गर्न आवेदन खुला गरिएको भए पनि अहिलेसम्म कुनै निवेदन नदिएको शर्माको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ मंसिर २०७७, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रासायनिक मलको कालोबजारी बढ्यो
मलको अभाव हुँदा खेती गर्न समस्या
साढे २५ अर्बको रासायनिक मल आयात
रासायनिक मलका लागि कतारसँग जीटुजी सम्झौतामा जोड
रासायनिक मल काठमाडौँ ढुवानी
सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ