आइडिया नेपालले निःशुल्क तालिम प्रदान गर्दै, रोजगारीको समेत व्यवस्था

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, १० : १५
आइडिया नेपालले निःशुल्क तालिम प्रदान गर्दै, रोजगारीको समेत व्यवस्था

काठमाडौं । एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपाल (आइडिया नेपाल) ले क्षमता–विकाससम्बन्धि निशुल्क अनलाइन तालिम प्रदान गर्न थालेको छ ।  

कोभिड–१९ को महामारीले मुलुकमा साना तथा मझौला उद्योगहरु धमाधम बन्द भइरहेको छ र लाखौं मानिसहरुले रोजगारी गुमाएको अवस्थामा आइडिया नेपालले दक्ष जनशक्तिको विकास गर्न हाल बिभिन्न किसिमका छोटो अबधिका तालिमहरु दिन सुरु गरेको हो । 

कम्पनीले सम्बन्धित विषयका विशेषज्ञ झिकाएर तथ्यांक विश्लेषण तथा एकेडेमिक आर्टिकल लेखन, ग्राफिक डिजाइनिङ्ग, मोबाइल तथा इलेक्ट्रोनिक्स सामान रिपियरिङ्ग, प्लम्बरिङ्ग, इलेक्ट्रिसियन, बाख्रा पालन, माछा पालन, बट्टाइ तथा कालिज पालन, व्युटिसियन, फिजियोथेरापी जस्ता २० भन्दा बढि तालिम दिने जनाएको छ । 

निशुल्क तालिमहरु मंसिर महिनादेखि सुरु भएको छ । आइडिया नेपालले तालिम लिएर काम गर्नसक्ने जनशक्तिलाई रोजगारीको व्यवस्था समेत गर्ने जनाएको छ । 

निशुल्क तालिम अनि रोजगारीको व्यवस्था गर्ने मोडल नेपालमा नयाँ भएको दाबी कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जीवन अम्गाईंले बताए  । तालिम मात्रै दिने तर रोजगारीको लागि सडकमा भौतारिनु पर्ने अबस्था अझै पनि धेरै भएकोले मुलुकमा तालिम प्राप्त जनशक्तिलाई देशभित्रकै विभिन्न निकायमा काम गर्ने व्यवस्थाको लागि विभिन्न संघ संस्थाहरुसँग कुरा भइरहेको डा. अम्गाईले बताए । 

अझैँपनि कतिपय कार्यलयमा दक्ष जनशक्तिको अभाब भइरहेको तर लाखौं युवायुवतीहरुले रोजगारीको गन्तव्य पहिल्याउन नसकेको अबस्थामा उद्यमशिलता विकास गर्ने तथा रोजगारी सृजना र व्यवस्थापन गर्न आफूहरु क्रियाशिल रहेको उनले बताए ।

आइडिया नेपालले सिप विकास तथा रोजगारी सृजनाको अलबा नविनतम खोज–अनुसन्धान गरी राज्यको आर्थिक विकासमा टेवा दिने लक्ष्य राखेको छ । कम्पनीका अध्यक्ष प्रा.डा. जीवनाथ धितालले देश–विदेशमा रहेका मानिसहरुको क्षमता पहिचान गरी उनीहरुको ज्ञानलाई देशभित्रै इनोभेटिभ कार्यमा उपयोग गरी मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको बताए । 

आइडिया नेपालले सन्चालन गरेको तालिम कार्यक्रम निशुल्क, अनलाइनमा आधारित र इच्छुक जो कसैले पनि भाग लिन पाउने जनाएको छ । आइडिया नेपालको फेसबुक पेजमा हरेक अनलाइन तालिमको लिंक प्रदान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस