बीबीसी । चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ ।
मङ्गलवार प्रक्षेपण गरिने मानवरहित चाङ'ए-५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ । ती ढुङ्गा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ ।
सन् १९७६ मा सोभियत सङ्घले पठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो ।
यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ ।
चाङ'ए यानको नाम प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो । त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिनेछ ।
उक्त यानले चन्द्रमाको 'ओशन अफ स्टोर्म्स' भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना सङ्कलन गर्ने प्रयास गर्नेछ ।
सन् १९७६ को अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो ।
सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ'ए-५ ले सघाउने अपेक्षा विज्ञहरूको छ ।
चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो ।
उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० मंसिर २०७७, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल