अमेरिकी राष्ट्रपतिमा बाइडेनले ट्रम्पलाई पराजित गर्लान् ?

एजेन्सी

मंगलबार, १८ कार्तिक २०७७, ०७ : ५४
अमेरिकी राष्ट्रपतिमा बाइडेनले ट्रम्पलाई पराजित गर्लान् ?

एजेन्सी । अमेरिकामा मंगलबार हुने राष्ट्रपतीय चुनावमार्फत वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने दाउमा छन् । तर उनका विरुद्ध डेमोक्रयाट नेता तथा पूर्वउपराष्ट्रपति जो बाइडेन निकै कठिन प्रतिस्पर्धीका रूपमा उभिएका छन् । 

अमेरिकाको परम्परावादी राजनीतिक शक्ति रिपब्लिकन र उदारवादी दलबीचको यो चुनावी भिडन्त निकै रोचक हुने पनि चुनावी सर्वेक्षणहरूले देखाएका छन् । बाराक ओबामाका उपराष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका बाइडेन दशकौंको अनुभवले खारिएका राजनीतिज्ञ हुन् । सामान्य नागरिकसँग सहजतापूर्वक घुलमिल हुन सक्ने बाइडेन विदेशनीतिका ज्ञाता तथा प्रखर वक्ताका रूपमा समेत परिचित छन् । तर विरोधीहरूका लागि बाइडेन संस्थापनसँग जोडिएका ‘अस्ताउन लागेका घाम’ हुन् ।

त्यसका साथै बेलाबखत महिलाहरूको कपाल सुँघ्ने बानीका कारण पनि उनी आलोचित हुने गरेका छन् । बाइडेनले अमेरिकी सिनेटका चुनाव सातपटक जितिसकेका छन् । खासगरी कामदार तथा मजदुर वर्गलाई आफ्नो स्वतःस्फूर्त भाषणमार्फत तरंगित पार्न सक्ने खुबी बाइडेनमा छ । भाषणपछि उनी आफ्ना समर्थकसँग हात मिलाउँछन्, अंकमाल गर्छन् र कुनै रकस्टारले जस्तै फोटो खिचाउँछन् । ‘बाइडेन मानिससँग अंकमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ । कृत्रिम होइन,’ पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जोन केरीले न्युयोर्कर पत्रिकालाई बताए । तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन् ।

यसपटकको चुनावी प्रतिस्पर्धाका दुवै खेलाडी ७० वर्ष माथिका हुन् । राष्ट्रपति ट्रम्प ७४ वर्ष पुगेका छन् भने बाइडेन उनीभन्दा चार वर्ष जेठा छन् । यद्यपि चुनावी खेलमा भने ट्रम्पभन्दा बाइडेन परिपक्व र अगाडि देखिएका छन् । त्यस्ता टिप्पणीका बाबजुद अश्वेत मतदातामाझ उनी लोकप्रिय छन् । रोबोट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन् । बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनको भनाइ छ ।

बाइडेन सन् १९८७ मा पहिलोपटक राष्ट्रपति पदका निम्ति आकांक्षी बनेका थिए । गत केही दशकयता अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडेन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गर्दै आएका छन् । अहिलेको राजनीतिक वातावरणमा ती कतिपय निर्णय उचित नदेखिन सक्छ ।

प्रतिक्रिया दिनुहोस