काठमाडौं। प्रहरीले शुक्रबार अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। मोरङ, कैलाली र दार्चुलाबाट उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-४ खाप बस्ने ४२ वर्षीय राजु राई छन्। उनी अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ४२ मिलिग्रामसहित शुक्रबार बिहान पक्राउ परेका हुन्।
राईको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका-१ तिल्केनी बस्ने २१ वर्षीय टंक बोहरा र २२ वर्षीय पदम न्यौपानेलाई पनि अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्रामसहित प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पदमको घरमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारबाट पनि दुई जना पक्राउ परेका छन्। अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा नौगाड गाउँपालिका-५ बस्ने १९ वर्षीय वीरेन्द्र सिंह धामी र सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय लोकेन्द्र सिंह ठगुन्ना रहेका छन्।
अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरबाट खटिएको प्रहरीले बैतडीबाट गोकुलेश्वर दार्चुलातर्फ आउँदै गरेको ग ३ च ३३५१ नम्बरको बोलेरो जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जीपमा सवार वीरेन्द्र र जीपका चालक लोकेन्द्रलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
श्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पक्राउ
विभिन्न हातहतियारसहित दुई जना पक्राउ
उच्च अदालत पाटन परिसरबाट रश्मिला धामी पक्राउ
भरुवा बन्दुकसहित दुई जना पक्राउ