काठमाडौँ । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गयराती नेपाल—भारत सीमाको कोशी गाउँपालिका—८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन् ।
छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका—८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फरार प्रतिवादी रहेका विनायकलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड गोली समेत फायर गर्नुपरेको जनाएको छ ।
प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली फायर गर्नुपरेको बताए । भाग्न खोज्ने व्यक्ति आत्तिएर लडेपनि उनलाई गोली भने नलागेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।
घटना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रहरीले पक्राउ परेकाको हकमा कानुन बमोजिमको कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।
सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका विनायककुमार यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए ।
अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९/०७/२३ गते सुरुङ खनेर भागेका थिए । सो बखत उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए ।
झुम्का कारागारबाट भागेका विनायकलाई केहि समय पछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । यद्यपि कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी त्यहाँबाट समेत भूकम्प गएको मौका छोपी २०७२÷१÷१२ गते भागेका थिए ।
प्रहरीकाअनुसार झुम्का कारागारबाट सुरुङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
श्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पक्राउ
विभिन्न हातहतियारसहित दुई जना पक्राउ
उच्च अदालत पाटन परिसरबाट रश्मिला धामी पक्राउ
भरुवा बन्दुकसहित दुई जना पक्राउ